जेनजी आन्दोलनको माग नातावाद,कृपावाद र पक्षपात अन्त्य गर्नु हो: प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरमा नातावाद, कृपावाद र पक्षपात अन्त्य हुनुपर्ने जेनजी आन्दोलनको माग रहेको बताएकी छिन्।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुने गरी काम गर्न आवश्यक रहेको बताइन्।

उनले समावेशी विकास र समन्यायको आकांक्षा जेनजीहरूको अभिव्यक्ति भएको उल्लेख गर्दै तदनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको सबैलाई विदितै छ।

राजनीतिक र आर्थिक अवसरमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेनको माग पनि समावेशी विकास र समन्यायको आकांक्षाको अभिव्यक्ति हो सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो बन्न सक्छ। यसले राष्ट्रलाई बलियो बनाउँछ।

प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हित हुने गरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत पनि गराइन्।