मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा


मलेसिया असाेज ३१। मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् । प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका रुपमा चर्चा थालेका बताइएको छ ।

 

मलेसियाको प्रमुख विपक्षी नेता रहेका इब्राहिम पुर्ववर्ती सरकारका पालामा जेल परेका थिए । जेल सजाय भोगेका उनी वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार बनेपछि रिहा भएका हुन् उनी गत शनिबारमात्र सम्पन्न एक उपनिर्वाचनमार्फत संसद सदस्य पनि विजयी भएका छन् । सो विजयसँगै उनलाई हालका मलेसियाली प्रधानमन्त्री ९३ वर्षीय महाथिर मोहम्मदपछिको प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको छ ।

 

उक्त उपनिर्वाचनमा विजयी भएसँगै मलेसियामा यो चर्चा चलेको समाचारमा जनाइएको छ । मलेसियामा यसैवर्ष सम्पन्न आमनिर्वाचनका समयमा पनि इब्राहिमको राजनीतिक दलसँग वर्तमान प्रधानमन्त्री मोहम्मदले सत्ता साझेदारीको सहमति गरेका बताइएको थियो । सोही सहमति बमोजिम नै उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको र अब उनी महाथिरपछिको प्रधानमनन्त्री बन्ने चर्चा गरिएको हो ।

 

यसअघि राजनीतिबाट विश्राम लिने घोषणा नै गरेका ९३ बर्षीय महाथिरले देशमा भ्रष्टाचार बढेको र देशको राजनीति गलत बाटोतर्फ गएको भन्दै सुधारका लागि आफूहरुले गठबन्धन गरेर राजनीतिमा फर्किनु परेको बताएका थिए ।

 

तर अघिल्लो सरकारले नेता इब्राहिमलाई पनि भ्रष्टाचारको आरोपमा जेल हालेको थियो । पछि उनलाई काराबासको सजाय दिइएको थियो । महाथिरको सरकार बनेपछि उनी रिहा हुनुभएको हो । भावी प्रधानमन्त्रीका रुपमा ७१ वर्षीय राजनीतिज्ञ अन्वार इब्राहिमलाई हेर्न थालिएको चर्चा यतिखेर मलेसियामा चलेको छ । सिन्ह्वा