प्रधानमन्त्री ओली मन्त्रीमण्डल हेरफेर गर्ने तयारीमा

काठमाडौं ,कार्तिक १ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्न लागेको खुलासा भएको छ । सरकारमा रहेका केही मन्त्रीहरुले चित्तबुझ्दो काम नगरेपछि केही मन्त्री फिर्ता बोलाउने तयारी भइरहेको ओली निकट एक सांसदले खुलासा गरेका हुन् ।

 

सरकार गठन भएको आठ महिना हुन लाग्दा पनि जनताको पक्षमा काम हुन नसकेपछि प्रधानमन्त्री ओली मन्त्रीमण्डल नै हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन् । बुधबार रिपोर्टस क्लवमा भएको कार्यक्रममा बोल्दै ओली पक्षीय सांसद तथा नेकपा नेता महेश बस्नेतले दशैँ लगत्तै केही मन्त्रीलाई हटाउन लागेको खुलासा गरेका हुन् ।
पछिल्लो दिन मन्त्रीहरुकै कारण पनि प्रधानमन्त्रीको कार्यशैलीबारे अनेक खालका टिप्पणी आएपछि ओलीले उक्त निष्कर्ष निकालेका हुन् ।

 

ओलीले आफ्नो सचिवालय, मन्त्रिमण्डलको पुनर्गठन र प्रहरी प्रशासन परिचालनको विषयमा आवश्यक तयारी गरिरहेको नेकपाका नेता एवं सांसद महेश बस्नेतले जानकारी दिए। ‘दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर तथा सचिवालय पनि पुनर्गठन हुन्छ’, ओलीनिकट बस्नेतले भने।

 

दशैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रमहरु ल्याउने जानकारी दिँदै बस्नेतले थपे, ‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ र सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पुनर्गठनको कुरा होस वा मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरामा पनि ध्यान दिनेछ। प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ।’

 

यद्यपी यस विषयमा नेकपाको ४ गते बस्ने सचिवालय बैठकमा छलफल हुने संभावना रहेको छ । यसअघि पनि प्रधानमन्त्री ओलीले गृहमन्त्री, कृषिमन्त्री, संघीय मामिला, खानेपानी र पर्यटन मन्त्रीहरुलाई परिवर्तन गराउनखोजेका भएपनि नेकपाका अर्का अध्यक्ष प्रचण्डले नमानेपछि ओली हच्किएका थिए ।