आईपिओ आँखुखोलाको बुधबार भित्र बाँडफाँड हुने, यसरी हुनेछ बाँडफाँड

काठमाडौं, कात्तिक ४ । आँखुखोला हाइड्रोपावरको साधारण शेयर ९आईपिओ० कात्तिक ७ गते बुधबार भित्र बाँडफाँड हुने भएको छ। हाइड्रोपावर कम्पनीले असोज २३ गतेदेखि १३ लाख ७६ हजार २० कित्ता शेयर निष्काशन गरेको आईपिओ बुधबार भित्रै बाँडफाँड गर्ने शेयर निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको हो ।

आँखुखोला जलविद्युत कम्पनीको आइपीओमा करिब ५९ करोड रुपैयाँ बराबरको आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ ।

८५ हजारभन्दा बढी आवेदकले ५९ करोड रुपैयाँको सेयर माग गरेको विक्री प्रबन्धकले बताएको छ ।

 

आईपीओ असोज २३ गतेदेखि निष्काशन गरेको थियो । जलविद्युत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १३ लाख ७६ हजार २० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये २७ हजार ५२० कित्ता कम्पनीका कर्मचारी र ६८ हजार ८०१ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

 

सामूहिक लगानी कोषलाई छुट्याइएको ६८ हजार ८०१ कित्ता भने बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ । आँखुखोलाले यसअघि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई निष्कासन गर्दा बिक्री नभएको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर आइपीओ निष्कासन गर्न लागेको हो । जलविद्यूत कम्पनीले धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गर्दा ६ लाख २३ हजार ९८० कित्ता सेयरमा मात्र आवेदन परेको थियो ।

 

यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन सकिने गरेको थियो । असोज २६ गतेसम्म भर्ने म्याद राखिएको थियो । कम्पनीले बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केटलाई नियुक्ति गरेको छ ।

 

आइपीओ बिक्रीपछि चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । यसअघि आँखुखोलाले गत साउन १७ गतेदेखि भदौ १५ गतेसम्म धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बेचेको थियो । पहिलो चरणमा स्थानीयका लागि जारी पुँजीको १० प्रतिशत आइपीओ बिक्री गरिएको थियो ।

 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पनि आँखुखोलाको आइपीओलाई ग्रेड ५ रेटिङ दिएको छ । कम्पनीले आँखुखोलाको पानीबाट ८।४ मेगावाट जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप २०७० साल भदौ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो । कम्पनीको विद्युत उत्पादन केन्द्र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको छ । रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा छ ।

 

शेयर निष्कासन पछि यसको पूँजी संरचना ६० करोड संस्थापक शेयरधनीको, ८ करोड आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीको र १२ करोड रुपैयाँ सर्वसाधारणको शेयर हुने छ । यो आयोजना चालू आवमा १ करोड ५४ लाख नाफामा जाने अनुमान गरिएको छ । गत वर्ष २ करोड ४३ लाख घाटा रहेको थियो ।

 

हाइड्रोपावर कम्पनीले निष्काशन गरेको साधारण शेयरमा ४ दशमलव ३१ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपिओमा ८५ हजार ८८० आवेदनबाट ५९ लाख ३६ हजार कित्ता शेयरको लागि ५९ करोड ३६ लाख रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ ।

 

हाइड्रोपावर कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुने विक्रीप्रबन्धकले जनाएको छ । यस अनुसार आँखुखोलाको शेयर माग गर्ने प्रत्येक आवेदकलाई गोलाप्रथाबाट १० कित्ता शेयर बाँडफाँड हुनेछ । यस अनुसार सबै आवेदकले हाइड्रोपावर कम्पनीको शेयर न्युनतम १० कित्ता पाउनेछन् ।