एसपी विष्ट र इन्सपेक्टर भट्ट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी प्रहरी सेवाबाट बर्खास्त ( विज्ञप्तिसहित) हेर्नुहाेस्

काठमाडौं, कात्तिक ८ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश प्रसाद भट्ट बर्खास्त गरिएको छ ।

गृह मन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

 

उक्त घटनामा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले अनुसन्धानमा लापरवाही गरेको भेटिएको थियो । सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । दुबैले स्पष्टिकरणमा लापरवाही नभएको दाबी गरेका थिए ।

 

दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमापलीअनुसार दुबैलाई बर्खास्त गर्ने निर्णय गरेको गृह प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गृह मन्त्रालयले आज एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी प्रहरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

हेर्नुहाेस विज्ञप्ति