प्रधानमन्त्री केपी ओली अस्वस्थ

काठमाण्डु,  कात्तिक १०– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली अस्वस्थ भएका छन् । स्वास्थ्यले साथ नदिएपछि ओली नेकपाले दसैं, तिहार, छठ र नेपाल संवतका अवसरमा शनिबार राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको चियापानमा सहभागी हुन सकेनन् ।

 

नेकपाका महासचिव विष्णु पौडेलले अस्वस्थताका कारण ओली चियापानमा सहभागी हुन नसकेको सञ्चारकर्मीलाई जानकारी दिए । ‘अस्वस्थताका कारण उहाँ ओली चियापानमा आउन सक्नुभएन’, पौडेलले भने । प्रधानमन्त्री ओली अपराह्न ३ः०० बजे चियापानस्थलमा आउने कार्यक्रम थियो ।

 

राजनीतिक दलका शीर्ष नेतालाई सोही समयमा बोलाइएको थियो । तर, ओली कार्यक्रममा नदेखिएपछि सबै अचम्मित भए । त्यही बीचमा सञ्चारकर्मीले महासचिव पौडेललाई जिज्ञाशा राखेका थिए । यद्यपि ओलीलाई के भएको भन्नेबारे पौडेलले थप बताएनन् । १२ वर्षअघि मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली नियमित औषधि सेवन गर्दै आएका छन् ।

 

ओलीको अनुपस्थितिमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल। बमदेव गौतम, रामबहादुर थापा बादल लगायतले आमन्तित्र पाहुनाको स्वागत गरे । चियापानमा विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक नियोगका प्रतिनिधि, उद्योगी, व्यवसायी, सुरक्षा निकायका उच्च अधिकारी तथा कर्मचारी र पेशाकर्मी लगायत सहभागी भए ।