निर्मला हत्या प्रकरण : कञ्चनपुरमा हत्यारा सार्वजनिकको माग गर्दै स्थानीय महिला अधिकारकर्मीले फेरि प्रर्दशन सुरु


काठमाडौं कार्तिक १२। कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा सार्वजनिकको माग गर्दै स्थानीय महिला अधिकारकर्मीले सोमबार महेन्द्रनगरमा फेरि प्रर्दशन सुरु गरेका छन् ।

नेपालीहरुको महान् चाड दशैँलाई मध्यनजर गर्दै केही समयका लागि रोकिएको निर्मलाको न्यायको आन्दोलन फेरि सुरु भएको हो। हत्यारालाई छिटो कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै प्रदर्शन सुरु भएको हो।

 

निर्मलाको हत्यारा पत्ता नलागेसम्म दबाबमूलक कार्यक्रम जारी रहने महिला अधिकारकर्मी नागरिक संघर्ष समितिकी सदस्य माया नेगीले बताइन्। महेन्द्रनगरको मदनचोकबाट सुरु भएको प्रर्दशनले बजार परिक्रमा गरेको थियो। प्रदर्शनमा निर्मलाका आमाबुबा समेत सहभागी थिए ।

निर्मलाको न्यायको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाइएको छ। स्थानीय महिला अधिकारकर्मी, नागरिक समुह र पीडित परिवारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

 

आइतबार बसेको सर्वपक्षीय बैठकले ९याली सहित प्रदर्शन गरेर प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । घटना घटेको तीन महिना भन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसम्दा प्रहरी प्रशासनप्रति जनविश्वास गुम्दै गएको भन्दै चाँडो भन्दा चाँडो अपराधी पत्ता लगाउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।