निर्माण व्यवसायी गौचन हत्या प्रकरणका मुख्य सुटरसहित तीन जना पक्राउ


काठमाडौं कार्तिक १२। निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्न मुख्य सुटरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई झापाबाट पक्राउ गरेर ल्याएको हो ।

 

पक्राउ पर्नेमा मुख्य अभियुक्त रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामा रहेका छन् । लोप्साङ लामा यसअघि रुपन्देहीमा युवा संघका नेता दुर्गा तिवारीको हत्या घटनाका मुख्य सुटर रहेको प्रहरीको भनाइ छ । बुढाथोकी भने सुटर नभइ हत्याका योजनाकार रहेको प्रहरीले बताएको छ ।

 

यद्यपी महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने उनीहरुलाई झापाको काकडभिट्टाबाट पक्राउ गरेको बताएका छन् । गौचन हत्याका मुख्य सुटर अमर राना दुई वर्ष अघि काठमाडौंमा नै भएको गुण्डानाइके दावा लामालाई गोली हान्ने घटनामा पनि संलग्न रहेको महाशाखाको भनाइ छ ।