भ्रष्टाचार मुद्दाको ‘सर्वोच्च’ चाङ

काठमाडौं, कात्तिक १३ । लाउडा जहाज भाडामा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दाले ११ वर्षदेखि अन्तिम फैसला कुरिरहेको छ। यो मुद्दा १७ वर्षअघि २०५८ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनमा दर्ता भएर पछि विशेष अदालतमा सरेको थियो।

 

उक्त प्रकरणमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारणीदत्त चट्टौतसहित सातजनालाई प्रतिवादी बनाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०५८ जेठमा भष्टाचार मुद्दा चलाएको हो। विशेष अदालतबाट सफाइ पाएपछि अख्तियारले २०६४ माघ १३ गते सर्वोच्चमा पुनरावेदन गरेको थियो। सर्वोच्चको संयुक्त इजलासमा राय बाझिएपछि यो मुद्दा हाल पूर्ण इजलासमा पुगेको छ।

 

अदालतमा मुद्दा खेप्दाखेप्दै मुद्दाका एक अभियुक्त गौरीनाथ शर्माको परलोक भइसकेको छ। यस्तै पूर्वमन्त्री गोविन्दराज जोशीको अकुत सम्पत्तिसम्बन्धी मुद्दा पनि २०६९ सालदेखि थाँती छ। अकुतमै पूर्वआईजीपी मोतीलाल बोहोरा र पूर्वसचिव चक्रबन्धु अर्यालको मुद्दा पनि यसरी नै अल्झिएको छ।

 

वित्तीय आतंकको रूपमा कहलिएको एक अर्ब बराबर राष्ट्रिय वाणिज्य बैंक ९मोरङ रानी शाखा० कर्जा घोटाला प्रकरणले पनि सर्वोच्चमा फैसलाको दिन कुरेर बसिरहेको छ। बैंक घोटाला प्रकरणमा उद्योगी सुबोध अग्रवाल, सुरेश अग्रवाल र कृष्ण अग्रवाल मुछिएका छन्। आजको अन्नपूर्ण पोष्टबाट ।