खानेपानी संस्थानमा करोडौं घोटाला, महाप्रबन्धकसहित ५ जनालाई कारबाही सिफारिस


काठमाडौं काैर्तिक १४। छानबिन समितिले सामान खरिदमा करोडौं रुपैयाँ घोटाला गरेको ठहर्‍याउँदै खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलगायत पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ । घोटालाकै कारण संस्थानलाई २५ करोड रुपैयाँ घाटा भएको समितिको निष्कर्ष छ ।

अनियमित खरिदमा महाप्रबन्धक प्रसाद, उपप्रबन्धक ईश्वर प्रसाद, बुटवल शाखाका कामु सहायक प्रबन्धक मोहनदत्त भट्ट, नेपालगन्जका इन्जिनियर आशिष कार्की र केन्द्रीय कार्यालयका सहायक प्रबन्धक त्रिदिपकुमार श्रेष्ठको संलग्नता औंल्याउँदै कारबाही सिफारिस गरिएको हो । संस्थानको बुटवल तथा नेपालगन्ज कार्यालयका लागि डीआई पाइप तथा फिटिङ समान खरिदमा घोटाला भएको समितिको दाबी छ ।

 

‘संस्थानले दुई कार्यालयका लागि २५र२५ करोड रुपैयाँको पाइप खरिद गरेको देखाएको छ तर भन्सार पास गरेको प्रज्ञापनपत्र हेर्दा नेपालगन्ज भन्सारबाट १२ करोड र भैरहवा भन्सारबाट १३ करोडको सामान आयात गरेको देखिएको छ । दुई ठाउँमा गरी संस्थानलाई २५ करोड घाटा भएको छ,’ प्रतिवेदनमा छ । संस्थानमा अनियमितता भएको विषय उठेपछि खानेपानी मन्त्रालयले छानबिन समिति बनाएको थियो ।

 

मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले उनीहरूमाथि भ्रष्टाचार ऐनअनुसार कारबाहीका लागि प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको जानकारी दिए । ‘प्रतिवेदन अख्तियारलाई बुझाएका छौं,’ उनले भने, ‘उसले जे निर्णय गर्छ, त्यही हुन्छ ।आजको कान्तिपुर दैनिकबाट।