निर्मला हत्या प्रकरण : पक्राउ गरिएका तीनै जनामा मानसिक समस्या


काठमाडौं असाेज १५। भीमदत्त नगरपालिका २ बागफाँटाका ४१ वर्षीय दिलीप विष्ट ८ कक्षा पढ्दादेखि नै मानसिक रुपले अस्वस्थ थिए । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनको स्वास्थ्य झन् बिग्रिएको छ । हिरासतमा यातना दिइएकाले उनी मानसिक रुपमा झन् कमजोर भएको परिवारले जनाएका छन् ।

२५ दिन हिरासतमा राखिएका विष्ट डिएनए परीक्षणमा निर्दोष देखिएपछि मुक्त गरिएका थिए। दाजु खडकका अनुसार अहिले उनी नयाँ मान्छे देख्नेबित्तिकै डराउँछन्। सुतिरहेका बेला पनि ‘कुटिहाल्यो, मारिहाल्यो, बचाऊ९बचाऊ’ भन्दै चिच्याउँछन्। ‘पहिलेदेखि नै अस्वस्थ थियो, अहिले झन् बिग्रिएको छ,’ उनले भने, ‘घरकै मान्छे देख्दा पनि डराउँछ, भाग्छ।’

 

प्रहरीले पक्राउ गर्नुअघिसम्म दिलीप एक्लै महेन्द्रनगर बजार आउजाउ गर्थे। अहिले घरबाट बाहिरै निस्किँदैनन्। स्वभाव एकोहोरो भएको छ। नुहाउन थाले दिनभरि नुहाइराख्छन्। दाँत माझ्न थाले लामो समय त्यही गरिराख्छन्। प्रहरीले भदौ ४ गते दिलीपलाई मुख्य आरोपीका रुपमा सार्वजनिक गरेको थियो। मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई पक्रेर दोषी उम्काउन खोजिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए।

 

दिलीपलाई हिरासतमा चरम यातना दिइएको अहिले उनको व्यवहारले खुल्न थालेको खडकले बताए। ‘राम्रो भएका बेला सबै कुरा खोल्छ, अपराध स्वीकार्न धेरै कुटपिट र धम्की दिएका थिए रे,’ उनले भने, ‘नमाने बुबा र दाइलाई पनि मारिदिन्छौं भनेको सुनाउँछ।’ खडकले दिलीपलाई उद्धृत गरेअनुसार प्रहरीले उनलाई अपराध कबुल गरे गाउँमै तीन तलाको घर बनाइदिने आश्वासन दिएका थिए।

 

स्वास्थ्य परीक्षणका नाममा काठमाडौं लगेर झनै यातना दिएको उनको भनाइ छ। ‘अहिले कुनै बेला हामीलाई पनि चिन्दैन,’ खडकले भने, ‘शनिबार महेन्द्रनगरमै मानसिक रोगका डाक्टरकोमा पुर्‍यायौं, साढे ६ हजारको औषधि दिएका छन्।’ उनका अनुसार डा। मोहन बेल्वासेले दिलीपको दिमागमा निकै असर परेकाले लामो समय औषधि खान सुझाएका छन्। दिलीपलाई थप उपचारका लागि सोमबार काठमाडौं लैजाने तयारी भएको खडकले बताए। ‘क्षतिपूर्तिका लागि उजुरी दिने विषयमा पनि सल्लाह भइरहेको छ,’ उनले भने।

यातना पाएका अन्यमा पनि समस्या

निर्मला हत्या प्रकरणमै पक्राउ गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १७ वर्षीया हेमन्ती भट्टमा पनि मानसिक समस्या देखिएको छ। परिवारका अनुसार उनी रातिराति बर्बराउन थालेकी छन्। जतिखेरै रिसाउने र डराउने गर्छिन्। ‘पहिले जे भन्दा पनि रिसाउँदैनथी,’ बुबा गोकुलेश्वर भट्टले भने, ‘अहिले त यो समस्या धेरै भएको छ।’ उनका अनुसार सुतेका बेला पनि हेमन्ती ‘आइहाले, लगिहाल्यो’ भन्दै कराउँछिन्।

 

हेमन्तीलाई प्रहरीले साउन १९ देखि लगातार ६ दिनसम्म जिल्ला प्रहरी कार्यालयमा बोलाएको थियो। त्यसक्रममा निकै यातना दिइएको परिवारले जनायो। मोबाइलमा निर्मला नामकी अर्कै साथीबारे गफ गरेकै आधारमा प्रहरीले उनलाई दुस्ख दिएको थियो।

 

यही प्रकरणमा ११ दिन हिरासत बसेका भीमदत्त १८ निम्बुखेडाका चक्रदेव बडू पनि बरबराउने र डराउने गरेको बुबा रामदत्तले बताए। चक्र भारतको मुम्बईमा वेटरको काम गर्थे। बिदामा आएका उनी यही घटनाका कारण काममा फर्कन सकेका छैनन्। प्रहरीले चक्रलाई आवश्यक परेका बेला हाजिर हुने गरी हिरासतमुक्त गरेको हो। उनलाई सार्वजनिक मुद्दा लगाएर ५ हजार धरौटी माग गरिएको थियो। आजको कान्तिपुर दैनिकबाट।