बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड


काठमाडौं असाेज १६। प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप ९बगैंचा व्यवस्थापन० को कार्य अन्तिम चरणमा पुगेको छ। बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ।

सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो। त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ। भीभीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिने गरी बगैंचा व्यवस्थापनको काम गरेको हो। त्यो अहिले अन्तिम चरणमा पुगेको छ।

 

बगैंचा व्यवस्थापनको ९० प्रतिशत काम सकिएको कार्यालयका प्रवक्ता सिनियर इन्जिनियर चन्द्रशेखर महतोले जानकारी दिए। कार्यालयले २०७३ साल ८ भदौदेखि बगैंचा व्यवस्थापन थालेको थियो। एक महिनाभित्र बगैंचा व्यवस्थापन सकेर त्यसलाई हस्तान्तरण गरिने प्रवक्ता महतोले जानकारी दिए। आजको अन्नपूर्णपोष्टबाट ।