म्यानपावर ठगीका दैनिक २४ उजुरी दर्ता


काठमाडौं असाेज २०। म्यानपावर व्यवसायीले विभिन्न बाहनामा कामदार ठग्ने गरेको पाइएको छ। राहदानी लिएदेखि विदेश पठाउँदासम्म ठाउँठाउँमा कामदार ठगिने गरेका छन्। वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक दुई दर्जनले ठगिएको भन्दै विभागमा उजुरी दिने गरेको तथ्यांक छ।

विभागका अनुसार १० हजार एक सय ५२ युवाले आफू ठगिएको भन्दै उजुरी दिएका छन्। तीमध्ये तीन हजार एक सय ९० उजुरीको अझै सुनुवाई भएको छैन। दुई हजार पाँच सय २६ वटा उजुरी प्रक्रियामा रहेको विभागले जनाएको छ। त्यस्तै पाँच सय ४४ उजुरी तामेलीमा रहेको विभागले जनाएको छ। विभागका अनुसार तीन हजार आठ सय ९२ उजुरी फरफारक भइसकेका छन्।

 

गत आर्थिक वर्ष एक अर्ब ५२ करोड २० लाख ७१ हजार दुई सय ५५ रुपैयाँ ठगिएको भन्दै उजुरी परेको छ। विभागका निर्देशक उद्धवप्रसाद रिजालका अनुसार विदेश पठाउँछु भनेर पैसा लिने, नपठाउने र धेरै पारि श्रमिक भन्ने तर थोरै दिने, एउटा काम भनी अर्कोमा पठाउने, सम्झौताबेगर अर्कै कम्पनीको भिसा दिने तथा विकसित मुलुकमा पठाउँछु भनेर मोटो रकम असुल्ने तर नपठाउने जस्ता ठगीका उजुरी विभागमा दिनहुँ आउँछन्।

 

पीडितसँग कागजात नहुँदा दाबी गरेअनुसार रकम असुली गर्न समस्या भएको रिजालले बताए। विभागले पीडित र पीडकसँग वार्तालाप गराएर पीडकबाट क्षतिपूर्ति भराउने गर्छ। अनुसन्धानका क्रममा केही उजुरी तथ्यहीन हुने गरेको निर्देशक रिजालको भनाइ छ। ‘कुनै न कुनै रूपमा कामदार ठगिएकै छन् तर केही उजुरी फजुल हुने गरेका छन्’, उनले भने।यो समाचार आजको अन्नपूर्णपोष्टबाट,