नेपालकाे सानदार जित मलेशिया ८ विकेटले पराजित

काठमाडौं, असोज २० । मलेशियामा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले मलेशियामाथि ८ विकेटको जित हासिल गरेको छ ।

 

मलेसियाले दिएको १ सय १ रनको लक्ष्य नेपालले १२ दशमलव ४ ‌ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा कप्तान पारस खड्काले नटआउट ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन जोडे । ओपनरद्वय अनिलकुमार साह १ रन र विनोद भण्डारी १२ रन बनाएर आउट भए।त्यसभन्दा पहिले टस जितेर पहिले ब्याटिङ गरेको मलेशिया ३ बल खेल्न बाँकी छदा १०० रनमा अलआउट हुन पुग्यो ।

 

मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान साफिक सरिफले सबैभन्दा बढि ४९ रन जोडे। उनले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरे। ओपनर सयद अइजाजले १३ रन बटुले। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

 

बलिङमा नेपालका सन्दीप लामिछाने चम्किए । उनलेले ४ ओभर बलिङ गर्दै ५ विकेट लिए। त्यसैगरी सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट हात पारे।पहिलो खेलमा नेपालले कमजोर टिम म्यानमारलाई ८ विकेटले हराएको थियो । अब नेपालले तेस्रो खेलमा थाइल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

 

प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।