भजनी छोटी भन्सारको निरिक्षण गरे मुख्यमन्त्री भट्टले

धनगढी, असोज २० ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हिन्दूहरुको महान चाड बडा दशैँ नजिकिएसंगै शुक्रबार कैलालीको भजनीमा रहेको पृथ्वीपुर छोटी भन्सारको निरिक्षण गरेका छन् ।

 

निरीक्षणका क्रममा मुख्यमन्त्री भट्टले भन्सारको स्तरोन्न्ती गर्न केन्द्र सरकारसंग समन्वय गर्ने बताए । उनले भजनीको सिमा क्षेत्र गुलरियाघाट र कुसुमघाटको पनि अवलोकन गरेका छन् । नेपाल–भारत सीमामा रहेको भजनी नगरपालिका–५ गुलरियाघाट पुल नबन्दा आवात जावतमा निकै सास्ती हुने गरेको स्थानियले मुख्यमन्त्रीलाई गुनासो गरेका थिए ।

 

खुला सीमाका कारण नेपाल–भारत सिमामा रहेको भजनीको गुलरियाघाट र कुसुमघाट नाकाबाट अवैध मालहरु भित्रिन थालेपछि मुख्यमन्त्री भट्टले पृथ्वीपुर छोटी भन्सारको निरिक्षण गरेका हुन् ।

 

प्रदेशका कुनै पनि जनताले अब दुख नपाउन भनेर आफू मुख्यमन्त्री भएदेखिनै जनताको पिरमर्का बुझ्न यसरी नै निरिक्षण गर्न आउने गरेको बताउँदै मुख्यमन्त्री भट्टले छिटो भन्दा छिटो पुल निर्माणको लागी आफुले ठोस कदम चाल्ने बताए ।

 

खुला सीमाका कारण भन्सार ब्यवस्थित नहुँदा सो नाकाबाट वर्षौदेखि करोडौको अवैध सामान ओसार पसार हुने गरेको स्थानीयहरु बताउँछन् । स्थानीयले भन्सारलाई ब्यवस्थित गर्न पृथ्वीपुर छोटी भन्सारलाई मुख्य भन्सार र कुसुमघाटमा छोटी भन्सार स्थापना गरिदिन प्रदेश सरकारलाई अनुरोध गरेका छन् । उक्त नाकालाई मात्र ब्यवस्थित गर्न सके राज्यले वर्षमा करोडौ रुपैयाँ राजस्व अशुल गर्न सक्ने स्थानीय जगत विकले बताए ।

 

भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले भजनी प्रदेशकै धेरै सम्भाबना रहेको क्षेत्र भएकोले यहाँको विकासका लागि प्रदेश सरकारले लगानी गर्नु पर्नेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

 

मुख्यमन्त्री भट्टले भजनी नगरपालिका–४ बिजुलियास्थित लौकाहाभौकाहा ताल, श्री मा शक्रि स्वरुपा देबी आश्रम, भजनी प्राथमिक स्वास्थ्य केन्द्र पनि अवलोकन गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका बिरामीहरुलाई जुस बाँडेका थिए ।