मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं, असोज २४ । काठमाडौंको सीतापाइलामा ट्याक्सीले मोटरसाइकललार्इ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा गएराति मनमोहन अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए।

 

मोटरसाइकलको पछाडि सवार रहेका काभ्रेकै २३ वर्षीय प्रकाश तामाङ गम्भीर घाइते भएका छन्। घाइते तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।