प्रहरी विवादको घेरामा फस्दै,आईजिपी खनाल भाषणवाजीमै सिमीत


काठमाडौं असाेज २५। महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परे। व्यवसायीबाट एक लाख ४० हजार रुपैयाँ घुस लिँदै गर्दा राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले पक्राउ गरेको हो। दुई दिनअघि काठमाडौं मूलपानीमा जुवाडेको अखडामा महानगरीय प्रहरी परिसर टोलीले छापा मार्दा दुई जनाको मृत्यु भएको घटनालाई पनि सर्वसाधारणले शंकाका दृष्टिले हेरेका छन्।

घटनास्थलमा रगत फेला पर्नु तथा दराजको ह्यान्डिल भाँचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले भनेको र त्यहाँको अवस्थाबीच परस्पर विरोधी तथ्य बाहिर आएका छन्। अपराध तथा भ्रष्टाचारका गतिविधिमा प्रहरी अधिकारी नै लागेको खुलेपछि प्रहरीको भूमिकाप्रति सर्वसाधारणले शंकालु दृष्टिले हेर्न थालेका छन्। उसको साख घट्दो छ।

 

पेप्सीकोलाका बालक निशान खड्काको अपहरणपछि हत्यामा गरिएको ‘इन्काउटर’ होस् वा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरी विवादरहित बन्न सकेन। ३३ किलो सुन प्रकरणमा मुचुल्कामा मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीको नाम समावेश नगरिनुलाई पनि प्रहरीको कमजोरीकै रूपमा लिनुपर्छ। सुन प्रकरणमै हत्या गरिएका सनम शाक्यका अभिभावक न्याय माग्न प्रधानमन्त्रीसमक्ष पुगेपछि मात्रै गोरेको नाम खुलेको हो।

 

दिनेश अधिकारी ‘चरी’, कुमार श्रेष्ठ ‘घैंटे’, मनोज पुन तथा ललितपुरका प्रवीण खत्रीमाथिको इन्काउन्टरमा पनि प्रहरीले विश्वासिलो आधार दिन नसक्दा शंकाको दृष्टिले हेर्ने गरिएको छ। यी घटनामा प्रहरी उच्च अधिकारीबीच मत बाझिएका छन्। कार्यस्थलमा खटिने प्रहरीले गल्ती दोहोर्‍याइरहेका छन्। संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल जवाफ दिँदै हिडेका छन्।

 

प्रहरी महानिरीक्षक खनालले आइतबार मात्रै संगठनभित्र शुद्धीकरण आवश्यक रहेको औंल्याउँदै संगठनभित्रका धमिरा हटाएरै छाड्ने प्रतिबद्धता गरेका छन्। महानिरीक्षक खनालको यो अभिव्यक्ति प्रहरीको गिर्दो साख जोगाउन आएको कडीमा रूपमा हेरिएको छ। ‘केही कर्मचारीको गैरव्यावसायिक कामले संगठनलाई नै लाञ्छना लगाउने प्रवृत्ति रोक्न तीव्रतासाथ लागिपरेको छु’, राष्ट्रिय प्रहरी प्रतिष्ठानमा आयोजित कार्यक्रममा महानिरीक्षक खनालले प्रहरीका पछिल्ला गतिविधिप्रति आक्रोश पोख्दै भने, ‘अब गैरव्यावसायिक काम हुन दिन्नँ। संगठनभित्रका धमिरा हटाएरै छाड्छु।’

 

प्रहरीको साख गिर्न नदिन व्यावसायिक भएर काम गर्न निर्देशन दिँदै उनले प्रहरीले इमानदार भएर काम गरे सर्वसाधारणले प्रहरीलाई हेर्ने दृष्टिमा परिवर्तन आउने बताए। पछिल्ला समय प्रहरीका शंकास्पद गतिविधिकै कारण महानिरीक्षक खनाल बर्खास्तीको माग सडकमै उठेको छ। पूर्वप्रशासक र प्रहरीकै पूर्वअधिकृतहरू भने प्रहरीको कामले नै अविश्वास बढेको बताउँछन्। पूर्वगृहसचिव सूर्य सिलवाल भन्छन्, ‘प्रहरीका आफ्नै कामकारबाहीले साख गिरेको देखिन्छ। आफ्नो जिम्मेवारीबाट टाढा भाग्न खोजेको जस्तो देखिन्छ। यसले प्रहरीका कार्यशैलीमाथि प्रश्न उब्जिनु स्वाभाविकै हो।’ आजको अन्नपूर्ण पोष्टबाट ।