दसैं मनाउन देश छिर्दा लुटपाट

काठमाडौं असाेज २७। गड्डाचौकी नाकामा दसैंमा घर फर्कनेहरू लामबद्ध छन्। भारतीय सुरक्षाकर्मीले भने उनीहरूलाई ठाउँठाउँमा सास्ती दिएको छ। पाँच ठाउँमा खानतलासी हुन्छ। प्रत्येक ठाउँमा पैसा तिर्नुपर्छ।

दिल्लीको आनन्दविहारबाट घर फर्किएका खगेन्द्रप्रसाद भट्ट मंगलबार बिहान वनबासा बसपार्क पुगे। वनबासादेखि गड्डाचौकीसम्म पुग्दा उनको झोला पाँच ठाउँमा खोतलियो ६ किलोमिटर दूरीमा उनले पटकपटक कम्तीमा २० देखि बढीमा दुई सय रूपैयाँसम्म तिरे।

 

यो भट्टको मात्रै समस्या होइन, दसैं मनाउन घर फर्किने सबै नेपालीले नाकामा अनावश्यक झन्झट र अवैध असुली गर्नुपर्ने बाध्यता छ। ‘वनबासादेखि गड्डाचौकी भन्सार कार्यालयसम्म पुग्दा भाडाबाहेक २ सय रूपैयाँ थप तिर्नुपर्‍यो, ठाउँठाउँमा झोला खोतलियो’, भट्टले भने।

 

भारतीय प्रहरी, कस्टम कर्मचारी, भारतीय सीमा सुरक्षा बल ९एसएसबी० सीमामा करिब १ किलोमिटरको दूरीमा बस्छन्। तीनै ठाउँमा नेपालीले सामान जाँच गराउनुपर्छ। एसएसबीले सामान मात्रै चेकजाँच गर्छ। भारतीय प्रहरी र कस्टम कर्मचारीले भने घर फर्किंदै गरेका नेपालीसँग पैसै असुल्छन्।

 

‘पैसा दिए सामान चेक गरेजस्तो मात्रै गरेर छोडिदिन्छन्’, बाजुराका काशीराम जोशीले भने, ‘नत्र झोला, गुन्टा खोलेर भित्रको सामान छरपस्ट बनाइदिन्छन्।’ उनले बाध्यतावश भारतीय प्रहरी र कस्टमका कर्मचारीलाई २०(३० भारतीय रूपैयाँ बुझाउनु परेको सुनाए। आजको अन्नपूर्णपोष्टबाट ।