ऋण नदिएको झोकमा अपहरण गरेर बालकको हत्या


काठमाडौं असाेज २९। दुई लाख ऋण नदिएको झोकमा बालकको हत्या गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार सार्वजनिक गरेको छ। सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दिपकको अपहरण गरी हत्या गर्ने १७ वर्षीय हरेन्द्रकुमार कुशवाहा र २३ वर्षीय श्याम बैठालाई प्रहरीले सार्वजनिक गरेको हो।

गाउँमै लागेको मेला हेर्न गएका दिपकको गत बुधबार अपहरण भएको थियो। मेलाबाट बालक अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। बालक हराएको सूचना पाएपछि खोजी सुरु गरेको प्रहरीले शनिबार राति स्रिमौनगढ नगरपालिका(३ स्थित सार्वजनिक जंगलमा बालकको शव फेला पारेको हो।

 

प्रहरीका अनुसार अपहरणकारीले बालकलाई अपहरण गरेको भोलिपल्टै हत्या गरेका थिए। अपहरणलगत्तै बालकको बुबा धनेश्वरसँग फोनमार्फत १० लाख फिरौती माग गरेका उनीहरुले बालकको हत्या गरी शव जंगलमा फालेको बयान प्रहरीलाई दिएका हुन्।

 

कल डिटेलको आधारमा घटनामा संलग्न व्यक्तिसम्म पुगेको प्रहरीले बयानका आधारमा बालकको शव फेला पारेको हो। फिरौतीमा प्रयोग गरिएको मोबाइल नम्बरका आधारमा घटनामा संलग्न व्यक्तिलाई शनिबार दिउँसो पक्राउ गरिएको र उनीहरुकै वयानपछि बालकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

 

‘फिरौतीमा प्रयोग गरिएको मोबाइल नम्बरबाट हामीले उनीहरुलाई पक्राउ गर्न सफल भयौँ’, राठौरले भने, ‘बयानकै आधारमा शनिबार राति गाउँकै जंगलबाट प्रहरीले शव बरामद गरेको हो।’ प्रहरीका अनुसार अपहरणकारीले बालकको हात खुट्टा बाँधी घाटी थिचेर हत्या गरेका थिए। अपरहण गरेर गाउँकै धान खेतमा बुधबार राति लुकाएर राखेका अपहरणकारीले बिहीबार बिहानै बालकको हत्या गरेको बयान प्रहरीलाई दिएको प्रवक्ता राठौरले बताए।

 

पक्राउ परेका मध्ये हरेन्द्रले एक महिना अघि बालकका बुवासँग दुई लाख रुपैयाँ ऋण मागेको र ऋण दिन अस्वीकार गरेपछि रिसिबी साध्न हत्या गरेको प्रहरीको भनाइ छ। ऋण नदिएपछि हरेन्द्रले बालकका बुवालाई समय आएपछि देखाउछु भन्दै धम्की दिएका थिए। प्रहरीसँंगको बयानमा हरेन्द्रले ऋण नदिएको रिसबी साध्न बालकको अपहरण गरी हत्या गरेको बताएका छन्। आजको अन्नपूर्णपोष्टबाट ।