माधव नेपालविरुद्ध मुद्धाको आज सुनुवाइ
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालविरूद्धको मुद्दाको आज सुनुवाइ हुने भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा नेपालको सुनुवाइ हुन लागेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
नेपाल नेतृत्वको मन्त्रिपरिषद बैठकले काभ्रेको साँगामा रहेको हदबन्दी छुट जग्गा खरिद गर्न अनुमति दिने र बिक्री समेत गर्न दिएको आरोप छ ।
२०६६ माघ १८ मा मन्त्रिपरिषद् बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो।
२०६६ चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो ।
अख्तियारले नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको थियो । प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

