आज स्थापना दिवस मनाउँदै काठमाडौँ महानगर

काठमाडौं। काठमाडौँ महानगरपालिकाले सोमबार ३१ औँ दिवस मनाउँदै छ। महानगरले बिहान ९ बजे सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगर दिवस मनाउन लागेको हो।

महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेका अनुसार १० स्रष्टालाई सम्मान गर्नुका साथै विभिन्न जातजातिको साँस्कृतिक प्रस्तुतिसमेत हुनेछ।

यही अवसरमा काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुहरूलाई सम्मान गरेको छ । आइतबार राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायतले बाजागुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरे।

महानगरका अनुसार ज्यापू महागुथि नेपाःयेँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मुधिमे गुरु र ५२ जना दाफा खिं गुरुलाई सम्मान गरिएको हो। यस्तै गुँलाबाज व्यवस्थापन व संरक्षण सङ्घबाट सिफारिसभएका २६ टोलका एक-एक, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक-एक जना नायःखिं बाजा गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलबाट सिफारिस भएका १४ गुरु छन्।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्वस्फूर्त परम्परागत वादन संस्कृति जोगाउन योगदान गर्ने बाजा गुरुहरूले प्रदान गरेको जीवन्तता कायम राख्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन्।