धानमा दाना नलागेपछि कृषक चिन्तित

पर्वत १८ कार्तिक । पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दाना  नलागेपछि यहाँको एक गाउँका कृषक चिन्तित बनेका छन् । पर्वतको फलेवास नगरपालिका–३ स्थित पोखरचौरका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘लोकतन्त्र’ मा दाना नलागेपछि स्थानीय दर्जनौँ कृषक समस्यामा परेका हुन् ।

 

उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिस गरेको थियो । कृषि प्राविधिकले दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको धानमा बाला नलागेपछि किसान चिन्तित बनेका हुन् । स्थानीय मार्सी र कोदे गुडुरालगायतको धान लगाउँदै आएका यहाँको पोखराचौर र आँगाखेतका करीब दुई दर्जन किसानले यस पटक ‘लोकतन्त्र’ जातको धान लगाएका थिए । यो जातका बोटमा बाला नलागेको हो ।

 

किसानले करीब १०० रोपनी खेतमा ८० किलो लोकतन्त्र धानको बीउ रोपेका हुन् । अन्य जातका तुलनामा दोब्बर फल्ने र बोट हावाहुरीमा पनि नढल्ने भन्दै प्राविधिकले सिफारिस गरेका थिए। स्थानीय कृषक पूर्णप्रसाद भुसाल, अस्मिता भुसाल, श्याम भुसाल, अमृत रिजाल, नारायण रिजाल, रिमा रिजाल, गङ्गा भुसाल, गीता भुसाल, नारायण भुसाल, गणेश भुसाल, टीका रिजाल र दुर्गा रिजाललगायतले आफ्ना खेतमा लोकतन्त्र लगाएका थिए ।

 

नगर कृषि कार्यालय फलेवासका प्रमुख कृषि अधिकृत नारायण पौडेलका अनुसार लोकतन्त्र धान उपल्लो भेगमा फल्दैन । तराई, भित्री मधेश, तल्लो पहाड र मध्यपहाडका नदी किनारमा मात्रै राम्रो फल दिन्छ। ‘पोखराचौर उच्च पहाडी क्षेत्रमै पर्छ’, उनले भने, ‘यो धान त्यहाँका लागि उयपुक्त होइन । कसरी सिफारिस भयो बुझ्नुपर्छ ।’ पीडित किसानले क्षतिपूर्ति पाउनुपर्ने उनले बताए ।

रासस