आचरण विपरितका कार्यमा प्रहरी संगठन शुन्य सहनशीलताको नीति अवलम्बन नराम्रो काम गर्नेलाई विदाइ महानिरीक्षक खनाल

काठमाडौँ कार्तिक १९ प्रहरी महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालले संगठनमा नराम्रो काम गर्ने छुट नभएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित भवनको सोमबार विहान उद्घाटन गर्दे खनालले प्रहरी राम्रो मात्र काम गर्नका लागि भएको बताए।

आचरण विपरितका कार्यमा प्रहरी संगठन शुन्य सहनशीलताको नीति अवलम्बन गरेकोले सोही अनुरुप प्रहरी कर्मचारीहरुले काम गर्नुपर्नेमा जोड दिँदै प्रहरी खनालले भने, ‘समाजमा हुने खराब क्रियाकलाप, गुण्डागर्दी लगायतका गलत कामका विरुद्ध प्रहरी कठोर रुपमा प्रस्तुत भई कार्य गर्नु पर्छ।’

 

नराम्रो काम गर्ने प्रहरीलाई संगठनबाट विदाइ गर्ने काम पनि आफ्नो कार्यकालबाट सुरु भएको उनले बताए। खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको बताएका छन् ।

 

प्रहरी महानिरीक्षक खनालले मुस्ताङमा पर्यटकीय स्थलहरु एवम् यातायातको विकास र विस्तारसँगै हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई संवेदनशील र गम्भीरतापूर्वक मनन गरी आगामी दिनमा रणनीतिक योजना बनाई काम गरिने बताए । सुरक्षा सचेतना, अपराध नियन्त्रण र शान्तिपूर्ण समाज निर्माणका लागि निर्दिष्ट यस योजनामा अन्य सुरक्षा निकाय एवम् सरोकारवाला पक्षबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने विश्वास उनले ब्यक्त गरे।

 

नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण भएको २२ कोठाको उक्त कार्यालय भवन २ करोड २४ लाख ४७ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।