जन्मदिनको बहाना गरि दुई जना किशोरी माथि सामूहिक बलात्कार

काठमाडाै कार्तिक २५। सिरहाको लहान नगरपालिका ११ भोटिया टोलमा जन्म दिनको पार्टी मनाउन बोलाइएका दुई जना किशोरी बलात्कृत भएका छन् ।

जन्मदिनको पार्टीको बहानामा दुई जना किशोरी माथि सामूहिक बलात्कार गरिएकाे हाे । १५ वर्षीया र २० वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएका हु्न् ।

 

इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राति जन्म दिनको पार्टी भन्दै बोलाएर भोटिया टोलमा ती किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

 

सिरहाको लक्ष्मीपुर पतारीकी र सिसवनीकी ती किशोरीलाई भोटिया टोलस्थित घरमा ल्याएर सात जनाको समूहले बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

 

सामान्य चिनजान रहेका उनीहरुलाई लहान ११ भोटिया टोलका हरि चौधरीले ‘मेरो बर्थ डे परेकाले घरमा जाऔं’ भन्दै दुबै जनालाई मोटरसाइकलमा भोटिया टोलस्थित घरमा ल्याएपछि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार त्यसको केही समयपछि अन्य पाँच जना युवाहरु समेत आएर सात जनाको समूहले सामूहिक बलात्कार गरेका थिए ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाले सामूहिक बलात्कारमा संलग्नहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी दिए ।

 

सामूहिक बलात्कारमा लहान ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र अन्य चार जनाको नाम खुल्न बाँकी रहेपनि हुलियाको आधारमा खोजी भईरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

पीडितको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।