भीरबाट लडेर एक युवकको मृत्यु, एक घाइते

बैतडी, कात्तिक २८ । भीरबाट लडेर बैतडीमा एक युवकको मृत्यु भएको छ । भने एक युवक घाइते भएका छन् ।

मृत्यु हुनेमा सिगास गाउँपालिका ५ का १९ वर्षीय विरे चुनारा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

 

गएराति सिगास गाउँपालिका ३ स्थित भुमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका युवकहरु मेला स्थलभन्दा ३०० मिटर माथि कुनै गलत काम भइरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली जान खोज्दा भागदौड हुँदा चुनाराको एक्कासी भीरबाट लडेर मृत्यु भएको बताइएको छ । भाग्ने क्रममा सिगास ५ का ३४ वर्षीय पते दमाई घाइते भएका प्रहरीले जनाएको छ ।

 

घटनास्थल यसअघि जुवातास खेल्ने अखडा रहेको हुने त्यस क्षेत्रमा युवाहरुले जुवातास खेलीरहेको हुनसक्ने बताइएको छ ।

घटनास्थल क्षेत्रमा जिल्लावाट अहिले प्रहरी टोली खटाइएको भएपनि टेलिफोन सम्पर्क हुन नसक्दा घटनाको पूर्ण विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

मंगलबार राती भुमीराज मन्दिरमा सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा समेत दर्शन गर्न गएकाले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडाई गरेको थियो ।