गृहमन्त्री बादलकै अगाडि पूर्वलडाकुले विष सेवन गरेपछि?


काठमाडौं मंसिर ५। वृहत् शान्ति सम्झौता भएको बुधबार १२ वर्ष पुग्यो। मंसिर ५, २०६३ मा भएको उक्त शान्ति सम्झौताले तत्कालीन विद्रोही नेकपा माओवादीद्वारा फागुन १, २०५२ देखि चलाइएको सशस्त्र जनयुद्धलाई औपचारिक रुपमा अन्त्य गरेको थियो।

शान्ति सझौतासँगै कतिपय तत्कालीन माओवादी लडाकुको नेपाली सेनामा समायोजन भयो भने, कयौं अयोग्य ठहर भए। कतिले स्वच्छिक अवकाश रोजे।

 

एउटा कालखण्डको महत्वपूर्ण दिन, बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कार्यकक्षमै एक पूर्वलडाकुले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका छन्।

 

पूर्वलडाकु कुलप्रसाद भट्टराईले सिंहदरबारस्थित कार्यकक्षमा गृहमन्त्री थापालाई भेट्न पुगेको बेला आत्महत्याको प्रयास गरेका हुन् । बादललाई भेट्न गृहमन्त्रालय पुगेका पूर्व लडाकु दुर्गाप्रसाद भट्टराईले आफूहरुमाथि अन्याय भएको भन्दै विष सेवन गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो। उनले कीटाणु मार्ने औषधी खाएको बताइएको छ।

 

गृहमन्त्री बादलसँग कुराकानी गरिरहेका बेला भट्टराईले खल्तीबाट विष निकालेर सेवन गरेको गृह मन्त्रालय स्रोतले बताएको छ।
हाल भट्टराईको वीर अस्पतालमा उपचार भइरहेको छ। उनको रगत परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

अस्पताल स्रोतका अनुसार भट्टराई खतरामुक्त रहेका छन् ।