भारतकाे चौकीदारी छाेडेर तरकारीबाट मासिक ४० हजार आम्दानी

बाजुरा, मंसिर ६ । भारतमा लामो समय चौकीदारी गरेर घर फर्केका बुढीगंगा नगरपालिका १० मोटाबाडाका हेमन्त बुढाले अहिले गाउँमा नै तरकारी खेती सुरु गरेका छन् । सामान्य तरकारी खेतीबाट सुरु भएको उनको तरकारी खेती अहिले १४ रोपनी जग्गामा विस्तार भएको छ । उनको पूरै परिवार अहिले व्यवसायिक तरकारी खेती तर्फ उन्मुख भएका छन् ।

 

‘भारतमा गयो चौकीदारी गर्यो, मालिकका गाडी धोयो अरुको गुलामी गर्यो आम्दानी खासै हुँदैनथ्यो ।’ बुढाले भने–‘अहिले गाउँमा नै आएर तरकारी खेतीमा हात हालेपछि मनग्य आम्दानी भएको छ ।’

 

सोही नगरपालिका ५ बेलकाटीयाका देवराज पाध्यायले आफ्नो धान र गहुँ फल्ने खेतमा व्यवसायिक तरकारी खेती गर्दै राम्रो आम्दानी गर्न थालेका छ । ‘विदेश गएर कमाउने रकम भन्दा बढी यहीँ कमाई हुन थालेपछि किन जानु विदेश’ उनले धान खेती गरेर वर्षभरी पुग्दैन त्यसैले तरकारी खेती सुरु गरेको उनले बताए ।

आफ्नै अगुवाईमा गाउँका अन्य किसानले पनि व्यवसायिक खेती गर्न थालेको उनको भनाइ छ । उनको बारीमा अहिले काउली, बन्दा, टमाटरलगायत फलफुल लटरम्म फलेको छ । धानबाली लगाउने खेतमा तरकारी लगाउन थालेपछी उनिहरू जस्तै त्यो क्षेत्रका अधिकाँस कृषकहरु तरकारी खेती तर्फ आकर्षित भएका छन् ।

 

‘धान लगाउदा तीन हजार बराबरको धान उत्पादन हुन्थ्यो ।’ त्रिबेणी नगरपालिका ४ तोलीकी कृषक सीता रावलले भनिन्, ‘तरकारी खेती गर्दा एक सिजनमा ४० हजारको तरकारी आम्दानी हुन्छ ।’ पछिल्लो समयमा गाउँमा ठूलो मात्रामा तरकारी खेती लगाउने गरिएको छ । बजारमा तरकारीको माग बढेपछि कृषकहरुले तरकारी खेतीलाई नै प्राथमिकता दिएका छन् ।