पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा फ्रान्समा प्रदर्शन, राष्ट्रपतिको राजीनामा माग

फ्रान्सको पेरिसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि दर्जनौँ सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। प्रदर्शनमा दर्जनौँ घाइते भएका छन्। राजधानी पेरिसको च्याम्प्स् एलिसमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।
फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार राजधानी पेरिस बाहेक देशका अन्य स्थनामा भने आन्दोलन शान्तिपूर्ण रहेको उल्लेख गरेको छ। पेरिसमा ८ हजार भन्दा बढी आन्दोलनकारी सहभागी भएको जनाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामाको मागसहितका प्लेकार्ड बोकेर चर्को नारा लगाएका छन्। यसैवचि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शनलाई लज्जास्पदको संज्ञा दिएका छन्।
मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिनुपर्ने कुनै आवश्यकता नरहेको भन्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीहरूलाई संयम अपनाउन आग्रह गरेका छन्। फ्रान्स सरकारले आगामी जनवरी १ देखि लागू हुने गरी डिजेलमा थप ६।५ सेन्ट र पेट्रोलमा २।९ सेन्ट कर वृद्धि गर्ने तयारी गरिरहेको छ।