नगरप्रमुख विरुद्ध वडाध्यक्षहरु आन्दोलित

   

     शोभा जिसी

नवलपरासी, मंसिर १२ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नगरप्रमुख र वडाध्यक्षहरुबीचको विवाद चुलिएको छ ।पछिल्लो समय नगरपालिकाले सचिवहरुलाई हेरफेर गर्दै फरकफरक वडा कार्यालयमा सरुवा गरेपछि विवाद चर्किएको हो ।

 

नगरप्रमुखले वडाध्यक्षहरुसंग सल्लाहा नगरी प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखसंग मिलेर मनोमानी ढंगले नगरपालिका संचालन गरेको वडाध्यक्षहरुले आरोप लगाएका छन् ।

नगरप्रमुखको कार्यप्रति असन्तुष्ट बनेका वडाध्यक्षहरु नगरप्रमुखकै विरोधमा उत्रिएका छन् ।वडाध्यक्षहरुले नगरप्रमुख, उपप्रमुख र प्रमुखप्रशासकीय अधिकृत मिलेर गरेको सरुवालाई अस्वीकार गर्दै वडासचिवहरुलाई वडा कार्यालयमा हाजिर हुनबाट समेत रोकेका छन् ।

 

नगरपालिकामा बजेट बाँडफाँडबाट हुँदै ठेक्कापट्टाबाट शुरु भएको विवाद अहिले थप चर्किएको हो । वडाध्यक्षहरुले नगरप्रमुखले समस्या हल गर्नका लागि कार्यपालिकामा छलफलमै नलगी आफूखुसी मनोमानी ढंगले निर्णय गर्ने गरेको आरोप लगाएका छन् । कर्मचारी हेरफेर जस्ता ससाना कामदेखि लिएर ठूला योजनाहरुसम्म नगर प्रमुखले हस्ताक्षेप गरि एकल निर्णय लिने गरेको भन्दै सुनवल नगरपालिकाका वडा अध्यक्षहरु सामुहिक रुपमा विरोधमा उत्रिएका हुन् ।

 

वडाध्यक्षहरुले नगरप्रमुख भीमबहादुर थापाले प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा विधिविहिन तरिकाबाट नगरपालिका सञ्चालन गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको सुनवल नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष थम्मन सिंह नेपालीले बताए ।

 

नगरपालिका भित्र भएको समस्याको समाधान नगरको कार्यपालिकाको बैठकमा पेश गरी छलफलबाट हल गर्नुको सट्टा नगरप्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले नगरपालिकाका वडाध्यक्ष तथा अन्य सदस्यहरुलाई दबाब दिएर जबरजस्त गर्न खोजेपछि विरोधमा उत्रिनु परेको वडा अध्यक्ष नेपालीले बताए ।

 

नगरपालिकाका प्रमुखले नगरका जुनसुकै कामहरु विधिसंगत ढंगले नभई व्यक्तिवादी एवं हैकमवादी तरिकाले गर्न थालेको सुनवल वडा नम्बर २ का अध्यक्ष राजेन्द्र यादवले बताए ।