राणाले बेचेको सिंहदरवारको ८ सय ८ रोपनी जग्गाको लालपुर्जा संसद सचिवालयसँग


काठमाडौ‌ं मंसिर १६। सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ। सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालय अन्तर्गतको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिसँग रहेको छ।

सचिवालय अहिले संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिले मन्त्रालय अन्तर्गत थियो। सचिवालयका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासेले लालपुर्जा आफूहरुसँग रहेको बताए। ‘लालपुर्जा सरकारको नाममा छ’ –उनले भने। राणा परिवारले सरकारलाई सिंहदरबारको जग्गा बेचेका हुन्। सिंहदरबारमा ५० भन्दा बढी सानाठूला भवन रहेका छन्।

 

सिंहदरबारभित्र भवन बनाउने र त्यसलाई व्यवस्थापन गर्ने काम पनि सचिवालयकै हो। उपत्यका भवन मर्मत सम्भार डिभिजनको नाम परिवर्तन भएर संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय बनेको हो, यसको कार्यालय खुसिबुमा रहेको छ। व्यवस्थापन कार्यालयले विशेष गरी ३ वटा क्षेत्रलाई हेर्नेको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निवासलाई हेर्ने जिम्मा एक जना सिनियर डिभिजनल इन्जिनियर ९सीडीई० को रहेको छ। यसले कुनैपनि सरकारी कार्यालय हेर्दैन।

 

त्यसै गरी अर्का सीडीईले सिंहदरबार पुनर्निर्माण सचिवालयलाई हेर्ने गरेको भने अर्काले मन्त्री क्वार्टरको जिम्मा लिएका छन्। मन्त्री क्वार्टरमा पनि एक जना इन्जिनियर रहेका छन्, जसले त्यहाँभित्र भएका समस्यालाई समाधान गर्ने गरेका छन् भन्ने छ। शहरी विकास मन्त्रालय अन्तर्गत एक मात्र शहरी विकास तथा भवन निर्माण विभाग रहेको छ। यो विभाग अन्तर्गत व्यवस्थापन कार्यालय रहेको छ।

 

व्यवस्थापन कार्यालय बन्नु अघि २८ वटा डिभिजन कार्यालय रहेका थिए तर ती डिभिजन कार्यालयलाई अहिले प्रदेश सरकारले हेर्ने गरेको छ। सिंहदरबारमा अहिले राष्ट्रिय अनुसन्धान केन्द्र, रक्षा मन्त्रालय र राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको भवन बनिरहेको छ। रक्षा मन्त्रालय २२ करोड रुपियाँको लागतमा र व्यवस्थापन केन्द्र १२ करोड रुपियाँको लागतमा बन्दै गरेको छ।  आजको नेपाल समाचारपत्र दैनिकबाट  ।