अख्तियारद्वारा पूर्वमन्त्री बिक्रम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने तयारी

काठमाडौं, मंसिर २१ । पूर्वमन्त्री बिक्रम पाण्डे भ्रष्टाचारको मुद्दामा तानिने भएका छन् । सिक्टा सिचाई आयोजनालगायत अन्य कतिपय निर्माण कार्यमा भ्रष्टाचार गरेको आरोप लाग्दै आएका ठेकेदार हुन बिक्रम पाण्डे ।

 

कतिपयले उनले चितवनका स्थानीय जनताका लागि विकास निर्माणमा सहयोग गरेको समेत बताउँदै आएका छन् । तर उनको यो सामाजिक काम भने आफूले गरेको अनियमितता लुकाउने रणनीतिका रुपमा पनि टिप्पणी हुने गरेको पाइन्छ ।

 

पाण्डेले नेपालमा ठेक्कापट्टा गरी अमेरिकामा सम्पत्ति थुपारेको समेत समाचार प्रकाशित भएको छ । पाण्डेका छोरा अमेरिकामा घर बनाएर बसेका छन् । पाण्डे समेत बेलाबखत त्यहाँ जाने गर्दछन् । पाण्डेमाथि विशेष अदालतमा मुद्दा दर्ता हुने विषयमा आज नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सिटिसिईरकालिका जेभीका प्रमुख पाण्डेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको हो ।

सिक्टामा भएको कामबाट सवा दुई अर्ब घाटा

अख्तियारले गरेको छानबिनमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा भएको गुणस्तरहीन कामले राज्यलाई दुई अर्ब १३ करोड घाटा भएको पाइएको थियो । अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिम ठेकेदार पाण्डे र सिटिसिईरकालिका जेभीका आधिकारिक प्रतिनिधि युवबहादुर क्षेत्रीबाट जनही ७८ करोड ४१ लाख ४१ हजार पाँच सय ९९ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने भएको छ ।

करिब ३५ किमी नहर कामै नलाग्ने गरी भत्कियो

सिक्टा सिँचाइ आयोजनाको मूल नहर सुचारु नहुँदै परीक्षणकै क्रममा भत्किएको थियो । नहरको करिब ३५ किमि कामै नलाग्ने गरी भत्किएको थियो । नहर निर्माणमा गुणस्तरलाई ध्यान नदिएको आशंकामा अख्तियारले छानबिन गर्दा ठेकेदार कम्पनी, परामर्शदाता कम्पनी र आयोजना हेर्ने कर्मचारीहरूको संलग्नतामा गुणस्तरहीन काम भएको भेटिएको हो ।

 

अख्तियारले सिक्टा सिँचाइ आयोजनाका तत्कालीन आयोजना निर्देशक सरोजचन्द्र पण्डितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ । पण्डितले ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीसँग मिलेमतो गरी सिक्टा आयोजनाको मूल नहर गुणस्तरहीन निर्माण गर्ने काममा सघाएको अख्तियारको ठहर छ ।

 

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कसुर गरेको ठहर गर्दै ५९ करोड ३४ लाख ५२ हजार बिगो मागदाबीसहित मुद्दा दायर गर्ने तयारी छ ।