निर्मलाका हत्यारा नजिक पुगेको प्रहरीकाे दाबी, रावल संलग्न रहेकाे संकेत, टुंगाेमा पुग्न थप अनुसन्धान गरिंदै

काठमाडौं । प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ ।

पढ्नुस पूरा समाचार

‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम निरन्तर चलिरहेको छ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अन्नपूर्णसँग भने, ‘चाँडोभन्दा चाँडो परिणाम निकाल्न जुटेका छौं ।’ बुधबार कञ्चनपुरमा सात जनासँग सोधपुछ गरिएको उनले सुनाए ।

 

प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालले नै रावलको बयान लिएका छन् । रावलले निर्मला बलात्कार तथा हत्यामा आफ्नो संलग्नता रहेको संकेत गरेका छन् । उनी लागुऔषध दुव्र्यसनी रहेको बताइएको छ । उनलाई यसअघि सीआईबीका डीएसपी अंगुरबाबा जोशी नेतृत्वको टोलीले कञ्चनपुरमै पक्राउ गरेको थियो । सोधपुछपछि उनी रिहा भएका थिए ।

 

‘रावलसँग बयान लिने क्रम जारी छ । उनले घटनामा आफ्नो संलग्नताको संकेत गरेका छन्’, प्रहरी उच्च स्रोतले भन्यो, ‘कञ्चनपुरमा बुधबार पक्राउ परेका दुई जनाको पनि बयान लिएपछि थप तथ्य खुल्न सक्छ । तर, उनीविरुद्ध बलियो प्रमाण भने फेला परेको छैन ।’गृह मन्त्रालय स्रोतले पनि यो घटनाको निचोडमा पुग्न लागेको बतायो । ‘प्रहरीले अपराधीनजिक पुगेको भनेको छ’, गृह स्रोतले भन्यो ।

 

प्रहरीले रावलसँग सम्बन्ध देखिएका दुई जनालाई पनि कञ्चनपुरमा पक्रेको छ । उनीहरूलाई काठमाडौं झिकाइएको छ । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई अभिभावकको साथ लगाएर जहाजबाट काठमाडौँ पठाइएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । ‘केन्द्रबाट २ जनाबारे अनुसन्धान गर्नुपर्ने भएकाले पठाउन भनियो’, कञ्चनपुर प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत कृष्णराज ओझाले भने, ‘परिवारका सदस्यसँगै उनीहरू दुवैलाई पठाइएको छ ।’

प्रहरी महानिरीक्षक खनाल र सीआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीले लिएको बयानमा रावलले यी दुई जनाको नाम लिएका थिए ।

महानिरीक्षक आफैँ सीआईबीमा

बुधबार दिउँसो प्रहरी महानिरीक्षक खनाल करिब ३ घण्टासम्म गृहमन्त्रालयमा थिए । अपराह्न प्रहरी प्रधान कार्यालय पुगेका खनाल राति साढे नौ बजे सीआईबीको कार्यालयमा पुगे । उनी त्यहाँ जानुको कारण थियो, निर्मलाको हत्यामा ‘संलग्न’ एक जना पक्राउ परेको सूचना ।

 

खनालले आफैँ रावलको बयान लिए । सीआइबीको टोलीले लिएको बयानमा आफूसँगै अन्य दुई युवाको पनि नाम लिएपछि चौधरीद्वयलाई प्रहरीले समातेर काठमाडौं झिकाइसकेको थियो।

रावल पक्राउ परेपछि महानिरीक्षकलाई अनुसन्धान निचोडमा पुग्न लागेको जनाउ सीआईबीले दिएको थियो । त्यसैले उनले रावलसँग बयान लिए ।

को हुन् रावल रु

१७ वर्षीय रावल भीमदत्तनगर नगरपालिका–१८ भगतपुर निवासी हुन् । उनका बुबाआमा दुवैजना अहिले रोजगारीका लागि भारतमा छन् । उनको मावली पनि भारत नै हो । उनी ठूलोबुबासँग बस्दै आएका थिए ।

प्रहरीका अनुसार निर्मलाको शव भेटिएको दिन रावल भारततर्फ गएका थिए । काठमाडौँ आएपछि उनी समातिएका हुन् ।

विज्ञ टोलीबारे यू टर्न

सीआईबी टोलीले रावलसँग बयान लिइरहँदा महानिरीक्षक भने गृह मन्त्रालयमा निर्मला प्रकरणबारे जवाफ दिइरहेका थिए । गृहमन्त्री रामबहादुर थापा, सचिव प्रेमकुमार राई र प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदी बैठकमा सहभागी थिए । गृहमन्त्रीले अनुसन्धानप्रति असन्तुष्टि जनाएका थिए । उनले निर्मला प्रकरण अनुसन्धान गर्न अर्को विज्ञ टोली बनाउनुपर्ने बताएका थिए । सीआईबी, अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली खटिरहेको अवस्थामा गृहमन्त्रीको नयाँ प्रस्ताव आएको थियो । महानिरीक्षकले भने अनुसन्धान चलिरहँदा अर्को समिति गठन आवश्यक नरहेको बताएका थिए ।

 

प्रवक्ता सुवेदीले बुधबार मन्त्रालयमा महानिरीक्षकलाई बोलाएर निर्मला प्रकरणबारे छलफल गरिएको पुष्टि गरे । बैठकबाट बाहिरिएका खनाललाई रावलबारे सूचना दिइएको थियो ।यसलगत्तै विज्ञ टोली गठन गर्ने गृहको योजनाले ‘यू टर्न’ लियो । तत्काल त्यस्तो टोली गठन हुने सम्भावना टरेको छ ।

पुष्टि होला आरोप 

निर्मलाको हत्या भएको चार महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । हाल समातिएका विरुद्ध पनि प्रहरीले ठोस प्रमाण फेला पार्न सकेको छैन । यसअघि पक्राउ परेका दीलिपसिंह विष्टसहितले साबिती बयान दिए पनि डीएनए नेगेटिभ आएपछि रिहा भएका थिए ।

 

प्रहरीले नौ जनाको डीएनए परीक्षण गरिसकेको छ । अझै १० जनाको डीएनए परीक्षणको तयारीमा प्रहरी छ । मंगलबार पक्राउ परेका रावलले साविती बयान दिए पनि डीएनए रिपोर्ट कुर्नुपर्ने बाध्यता प्रहरीलाई छ । ‘अनुसन्धानका सबै विकल्प प्रयोग भएका छन् । रिजल्ट नआई यसबारे केही भन्न सकिन्न’, सीआईबीका प्रमुख शाही भन्छन्, ‘रावलको बयानबारे केही भन्न मिल्दैन, तर हामी अनुसन्धानलाई निचोडतर्फ लैजाँदैछौँ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कुबेर कडायतले पनि अनुसन्धान गहन रुपमा अघि बढिरहेको बताए । ‘अनुसन्धान छोडिएको छैन, हामी सुक्ष्मरुपमा लागेका छौं’, उनले भने ।

 

यद्यपि प्रहरीले घटनास्थल प्रकृति जाँच मुचुल्कादेखि नै त्रुटि गरेको छ । आधारभूत प्रमाण प्रहरीले नै मेटेकाले अब प्रमाणका रुपमा मोबाइल फोन लोकेसन र डीएनए टेस्ट जस्ता प्रविधिमा भर पर्नु परेको छ ।

 

‘यो केस जटिल मोडमा पुगिसकेको छ । रावलको डीएनए रिर्पोट पनि नेगेटिभ आए अनुसन्धानमा धैर्यता राख्नेबाहेक हामीसँग विकल्प छैन’, निर्मला प्रकरणकै अनुसन्धानमा जुटेका एक प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीकै लापरबाहीले सबुत नष्ट भएकाले प्रविधिमै निर्भर भएर अपराधी पत्ता लगाउने कठिन अवस्थामा हामी छौँ ।’

 

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको हत्या भएको एक सय ३१ दिन भइसकेको छ । साउन १० गते साथी रोेशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको शव भोलिपल्ट भीमदत्त नगरपालिका–२ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै उखुबारीमा भेटिएको थियो ।आजको अन्नपूर्ण दैनिकले यश विषयमा विस्तृत समाचार प्रकाशन गरेको छ ।