निर्मला हत्याकाण्ड : प्रदीप र विशालको रिहाको माग गर्दै महेन्द्रनगरमा चक्काजाम

कञ्चनपुर, मंसिर २४ । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका प्रदीप रावल र विशाल चौधरीका आफ्न्तले पूर्वपश्चिम राजमार्गको महेन्द्रनगरमा चक्काजाम गरेका छन् । सोमबार रावल र चौधरीलाई रिहा गर्नुपर्ने माग गर्दै उनका आफन्तले चक्काजाम गरेका हुन् ।

 

निर्दोस रावल र चौधरीलाई निर्मला हत्या प्रकरणसँग जोडेर प्रहरीले पक्राउ गरी फसाउन खोजेकोले ट्राफिक चोकमा चक्काजाम गरिएको बिसालका बुबा बिरबहादुर चौधरीले बताए । उनले दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि राजमार्गमा चक्काजाम गरिएको बताए । ‘प्रहरीले हाम्रा निदोष छोराहरुलाई फसाउन खोजेको छ, जबरजस्ती हत्या घटनामा जोडेको छ,’ उनले भने ।

 

प्रहरीले हाम्रा छोराहरुलाई धम्की दिएर हत्या स्वीकार गराउने प्रयास गरेको बिरबहादुरले बताए । ‘नियन्त्रणमा लिएको दिनदेखि उनिहरुलाई प्रहरीले अनावश्यक तनाव दिइरहेको छ, भेटन दिएको छैन ।’ उनले भने ।

 

निर्मलाको हत्या भएको दिन प्रहरीले बिसाललाई कुखुरा चोरीको आरोपमा पक्राउ गरेको बिरबहादुर बताए । ‘प्रहरीले साउन १० गते बेलुका ५ बजे छोरालाई पक्राउ गरेको थियो, दिनमा छोरा घरमै टिभी हेरिरहेको थियो, उसले हत्या गर्न सक्दैन्,’ उनले भने ।