आज पुस १ कालो दिवस मनाइँदै


काठमाडौ , पुष १ ।  आज पुस १ गते प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ।

विसं २०१७ पुस १ गते पहिलो निर्वा्चित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्था शुरुवात गरेका थिए। नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहँदा प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो।

 

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो। यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो। यहीँ बसेर बिपीले ‘दोषी चस्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना गर्नुभएको थियो।

 

पुस १ गते तरुण दललगायतका संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन्। दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना हुँदैछन्।