पूर्वप्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा मंगलबार बिहान निधन

काठमाडौं , पुस ०३ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ ।आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

डा. तुल्सी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन् । २०१७ सालमा राजाले जन निर्वा्चित संसद र सरकारलाई भंग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएका थिए । पछि यिनी प्रधानमन्त्री पनि बनाइए ।

 

यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछि यिनी पुनः मन्त्रीपरिषदको उपाध्यक्ष बनाइए ।

 

उनी नेपालमा ‘पन्चायत ब्यबस्थाको जननी’ मनिन्छन् र सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन् ।उनी लामो समयदेखि विदेशमा बस्दै आएका थिए । नेपालमा माघ १९ गतेको राजनीतिक घटनापछि नेपाल आएका हुन् । मुलुकमा गणतन्त्र आएपछि गिरी राजनीतिक सक्रियताबाट टाढा थिए ।