क्रान्तिकारी माओवादी समर्पित देशभक्त जनगणतान्त्रिक मोचा नेपालले ऐतिहासिक तेस्रो जनआन्दोलनको घाेषणा

काठमाडौं  पाैष ३।नेकपा क्रान्तिकारी माओवादी समर्पित देशभक्त जनगणतान्त्रिक मोचा नेपालका अध्यक्ष सीपी गजुरेलले अब देशमा एक ऐतिहासिक तेस्रो जनआन्दोलनको उठान गरिने र त्यसको नेतृत्व देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले गर्ने बताएका छन् । मोर्चाद्वारा काठमाडौंको कमलादीस्थित होटल कमलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् । मोर्चाको बुद्धनगरस्थित कार्यालयमा केन्द्रीय समितिको पूर्ण वैठक बसी लिइएका संघर्षका निर्णयहरु सार्वजनिकीकरण गर्दै उनले निरन्तर संघर्षको उठानसँगै यसलाई आम हडतालको उचाइमा पुर्याइने पनि बताएका छन् ।

 

कार्यक्रममा पत्रकारहरुमाझ बोल्दै अध्यक्ष सीपी गजुरेलले अब उठान गरिन लागेको तेस्रो ऐतिहासिक जनआन्दोलनको जिम्मेवारी लिन सबै तयार रहन अनुरोध पनि गरेका छन् । एक जिम्मेवार वैकल्पिक शक्तिका रुपमा जिम्मा लिन र त्यसको कुशलतापूर्वक नेतृत्व गर्न आफूहरु र आफ्नो मोर्चा तयार रहेको भन्दै गजुरेलले त्यसका लागि देशभक्त, वामपन्थी, प्रगतिशील तथा अग्रगामी शक्तिहरु पनि मोर्चा बनाएर अघि बढ्न तयार हुनुपर्ने कुरामा जोड दिए । उनका अनुसार यो विकल्प कुनै पनि व्यक्तिका विरुद्धमा अर्को व्यक्ति खडा गर्ने नभई सिंगो संसदीय व्यवस्थाका विरुद्धमा जनताको सत्ता स्थापना गर्ने विकल्पको आन्दोलन रहेको बताए ।

 

पत्रकारहरुसँग कुराकानीका क्रममा गजुरेलले यसको तयारी कहिलेदेखि गर्नुहुन्छ भन्ने सोच्नु भएको होला, त्यो आजैदेखि तपाईहरुसँगको भेटघाटबाटै सुरु भएको छ, तपाईका समाचार माध्यमहरुमा यो समाचार प्राथमिकताका साथ हेडलाइनमा राखी प्रचारप्रसारमा ल्याउनुहोला, यसैबाट तयारीको सुरुआत हुने छ ।

 

गजुरेलका अनुसार प्रचारप्रसारका अतिरिक्त मोर्चाले चरणवद्ध संघर्षका कार्यक्रमहरुलाई अघि बढाउने भएको छ । यसका लागि देशव्यापी जनसम्पर्क र जनसम्बन्धलाई जोड्न मेचीमहाकाली अभियान चलाइने छ । यो मेचीमहाकाली अभियानको सुरुआत फागुन ७ गते पूर्वमा झापा, पश्चिममा कञ्चनपुर, मध्यमा पोखरा र राजधानी सहर काठमाडौं गरी ४ ठाउँबाट उद्घाटन गरिने छ । फागुन ७ देखि २१ गतेसम्म लगातार १५ दिन भव्य रुपमा देशव्यापी गरिने यी संघर्षका कार्यक्रमहरुमा व्यापक जनताको सहभागिता रहने छ । यसको समापन फागुन २१ गते चितवनमा गरिने पनि बताइएको छ ।

 

देशको इतिहासमा एक ऐतिहासिक दिनका रुपमा स्थापित चैत्र २४ गतेका दिदनमा एक वृहत् जनसभा गरी केन्द्रीय रुपमा व्यापक जनपरिचालन गरिने छ । यसका लागि राजधानी सहरका देशभक्त, प्रगतिशील, अग्रगामी, राष्ट्रवादी तथा वामपन्थी शक्तिहरुलाई सहभागिताका लागि हार्दिक आमन्त्रण पनि गरिने छ । विज्ञप्तिमा जनाइएअनुसार उक्त मोर्चा निर्माण र सहकार्यका लागि देजमो अध्यक्षको अध्यक्षतामा तीन सदस्यीय वार्ता टोली पनि गठन गरिएको पनि जनइएको छ ।

 

पत्रकारहरुसँगको कुराकानीका क्रममा गजुरेलले देश निकै भयाबह अवस्थामा पुगेको बताएका छन् । समाजवाद निर्माण, समृद्ध नेपाल, सुखी नेपाली जस्ता नारा दिएर वर्तमान वाम नामधारी ओली सरकारले सिंगो देशलाई भ्रष्टाचार, माफियातन्त्र, विचौलिया र तस्करीको आहालमा डुबाएको भन्दै अब त्यसले तेस्रो जनआन्दोलनको आवश्यकतालाई अपरिहार्यसमेत् बनाएको कुरामा जोड् दिएका छन् ।

उनका अनुसार ओलीदाहालको भण्डाफोर अहिले उनकै स्थायी समितिका सदस्यहरुले धुम्बाराहीमा गरिरहेका, नेपाली कांग्रेसको भण्डाफोर उसले आयोजना गरेको र हाल चलिरहेको महासमितिको वैठकमा भइरहेकाले अब त्यही भण्डाफोर र असक्षमताका आधारमा तेस्रो जनआन्दोलनको भूमिकासहित जनता उठ्नथालेका कुरामा जोड दिएका छन् । यसबाट जनताले थाह पाइसकेका छन्् कि कथित वाम आवरणमा देखिएको ओली सरकार आफैमा असक्षम र नाललायक त भइसकेको छ, यसको विकल्पमा कांग्रेस पनि अब जनताले नरुचाएको पार्टी बनिसकेको कुरामा गजुरेलको जोड थियो ।

 

उनले पूर्व लडाकूहरु माइतिघर मण्डलामा अनसनमा बसेका र उनका नेतालाई गिरफ्तार गरेर गायब बनाइएको प्रसंग उल्लेख गर्दै अब लडाकूहरु पनि तेस्रो जनआन्दोलनभन्दा अन्यत्र विकल्प नदेख्ने गजुरेलको भनाइ थियो । इतिहासमा धोखाधडी र विश्वासघात फेरि आउन नदिन आफूहरुले पाठ सिकेर अघि बढेको कुरामाथि प्रकाश पार्दै उनले प्रचण्डहरुले गरेका गद्दारीका विरुद्ध विद्रोह गरेर आफूहरुले जनताको विश्वास र माया नगुमाएको कुरामाथि प्रकाश पारेका थिए ।

 

पत्रकारहरुसँग मोर्चाका अध्यक्ष गजुरेलले प्रश्नोत्तर मार्फत् अन्तरसम्बाद गर्नु अघि मोर्चाका केन्द्रीय सचिव परि थापाले प्रेस विज्ञप्ति वाचन गरेका थिए । वाचित उक्त विज्ञप्तिमा संघर्षहरुका साथै केन्द्रदेखि स्थानीय स्तरसम्म देशव्यापी संगठनको विस्तार गर्ने यसका भेला तथा सभा र सम्मेलनहरु गर्ने, अन्तरक्रियाहरु सम्पन्न गर्ने र संघर्षका लागि कार्यगत एकताको पहल गर्ने कुराहरुमा जोड दिइएको थियो ।
थापाले पत्रकार भेटघाटमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ, सहयोग र सहकार्यको अपिल पनि गरेका थिए ।