निर्मलाकाे हत्या भएकाे १ सय ५० दिन पुग्याे,हत्यारा पक्राउ गर्न प्रहरी असफल

महेन्द्रनगर, पुस ८ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १ सय ५० दिन पुगेको छ। तर, हालसम्म पनि हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

 

निर्मलाको गत साउन १० गते हत्या भएको थियो। हत्या भएको भोलिपल्ट मात्रै उनको शव नजिककैको उखुबारीमा भेटिएको थियो। घटनालाई लिएर प्रहरीले दर्जनौं व्यक्तिसँग बयान लिइसकेको छ।

 

प्रहरी अधिकारीसिहत एक दर्जनभन्दा बढीको डिएनए जाँचसमेत गराइस‍किएको छ। तर हालसम्म पनि हत्यारा को हो भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन।

 

यसैबीच निर्मलाको हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै विरोध स्वरुप आज काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ।सडकमा ‘दण्डहिनताको १ सय ५० दिन’ लेखेर विरोध गर्ने परिवर्तनका लागि युवा अभियान नेपालले जनाएको छ।