जापानमा रोजगारीको लागि नेपाली कामदारलाई बाटो खुल्यो, यसरी जान सकिन्छ

काठमाडाै पाैष १०।नेपालीसहित विदेशी कामदारका लागि जापानमा रोजगारको ढोका खुलेको छ। जापान सरकारले मंगलवारदेखि लागु गरेको नयाँ नीति अन्तर्गत विदेशी कामदारका लागि जापान खुल्ला भएको हो। नयाँ नीतिअनुसार नेपाल पनि जापानको उच्च प्राथमिकतामा परेको छ। जापान सरकारले नेपालबाट जाने कामदारलाई नेपाली भाषामै परामर्श दिने नीति ल्याएको छ।

 

संसारभरका विदेशी कामदार आकर्षित गर्न जापानले १२६ वटा नयाँ नीति लागु गरेको हो। प्रधानमन्त्री सिन्जो आबेले आफ्ना मन्मिण्डलका सदस्यलाई ठूला सहरमा मात्र नभएर साना सहरहरुमा समेत रोजगार सिर्जना गरेर विदेशी कामदारलाई आकर्षित गराउने वातावरण बनाउन निर्देशन दिएका छन्। विभिन्न क्षेत्रमा विदेशी कामदारलाई रोजगार प्रदान गर्न यो नीतिले सहयोग पु(याउने जापानी सरकारको विश्वास छ।

 

मंगलवारबाट लागु भएको नीतिले हाल जापानमा रहेका विदेशी कामदार समेत लाभाम्वित हुने बताइएको छ। यो नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुनेछन्। जसअन्तर्गत उक्त केन्द्रहरुले विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्नेछ।

 

११ वटा भाषामा नेपाली भाषा समेत समावेश गरिएको छ। अन्य भाषामा जापानी, अंग्रेजी, थाई, चिनियाँ, कोरियन, स्पेनिस, भियतनामी, पोर्चुगिज, इण्डोनेसियन र फिलिपिनी ट्यागलोग रहेका छन्।

 

विदेशी कामदारलाई जापानी भाषासँग अभ्यस्त गराउन जापान सरकारले तालिम प्राप्त भाषा शिक्षकबाट भाषा कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ। विदेशी कामदार ल्याउन जापानी सरकारले सन् २०१९ का लागि १६।३ अर्ब जापानी येन बजेट छुट्याएको छ।

 

जापानले विभिन्न १४ वटा क्षेत्रका लागि विदेशी कामदार लैजाने नीति कार्यान्वयनमा ल्याएको हो। नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले सो क्षेत्रलाई बढी प्राथमिकता दिएको छ। कम्तीमा ३ लाख ४५ हजार १५० विदेशी कामदारलाई रोजगार भिषा अन्तर्गत आफ्नो देशमा भित्र्याउने जापानी सरकारको लक्ष्य रहेको छ।

 

सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ्ग तथा रेस्टुरेन्टका लागि भाषा परीक्षा लिइने योजना छ। बाँकी ११ क्षेत्रमा सन् २०२० को मार्चसम्म क्रमशः परीक्षा लिइने बताइएको छ।