आजदेखि निजामती कर्मचारीको समायोजन प्रक्रिया शुरु, देशभर दरबन्दी १ लाख ३८ हजार १७८ कायम


काठमाडौं पाैष ११।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्न अनलाइन सफ्टवेयर सुरु गर्न लागिएको बताएका छन् ।

संसद्को राज्यव्यवस्था समितिमा बोल्दै मन्त्री पण्डितले कर्मचारी ट्रेड युनियनसँग छलफल गरेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको पनि दाबी गरे । सरकारले निजामती कर्मचारी समायोजनका लागि देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ । संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी कायम भएको हो ।

 

दरबन्दी निश्चित भएकाले बुधबार नै कर्मचारी समायोजन फारम भर्न आह्वानसहित सूचना जारी गर्ने तयारी सरकारले गरेको छ ।मन्त्री पण्डितले भने, ‘रास्ट्रपतिबाट प्रमाणीकरण नभइ अध्यादेश सार्वजनिक गर्ने भन्ने कुरा हुँदैन । मुलभूत कुरामा छलफल भएको हो । रास्ट्रसेवक कर्मचारीको वृत्तिविकासको ढोका बन्द भएको छैन ।’

 

छलफलको क्रममा केही सांसदहरुले भने कर्मचारी समायोजन प्रक्रिया अव्यवहारिक भएको भन्दै अध्यादेश फिर्ता लिएर संसदबाट ऐन पारित गरेर जान सुझाएका छन् । ‘प्रत्येक राष्ट्रसेवक कर्मचारीले आफूले इच्छाएको विवरण सफ्टवेयरमा भर्नुपर्ने छ । उनीहरुको प्राथमिकताका आधारमा समायोजनको प्रक्रिया अगाडि बढाउँछौं,’ मन्त्री पण्डितले भने ।

 

सरकारले यसअघि कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो । मंसिर २३ गते राजपत्रमा प्रकाशित अध्यादेशमा संघीय संसदका दुवै सदनमा बुधबारदेखि छलफल सुरु हुँदैछ । अध्यादेश जारी भएको ६ महिनाभित्र संसदले पारित गर्नुपर्ने हुन्छ ।