सांसद गगन बोल्दै गर्दा सभामुखले माइकको लाइन काटेपछि…

काठमाडौं, पुस १४ । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सम्बोधन गरिरहँदा सभामुख कृष्ण बहादुर महराले निर्धारित समयअगावै माइक काटेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

 

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा विशेष समयमा धारणा राख्ने क्रम चलिरहेको थियो। पालो आयो नेपाली कांग्रेसका सांसद थापाको। उनी माइक समातेर बोल्न थाले। कर्मचारी समायोजन अध्यादेश विभेदकारी रहेको भन्दै फिर्ता लिन उनले सुझाव दिइरहेका थिए।

 

उनी २ मिनेट ३१ सेकेण्ड बोलिसक्दा माइकको लाइन काटियो। माइक काटिएको ५ सेकेण्डसम्म बोलेर गगन रोकिए। त्यसपछि सभामुखले नेकपाका सांसद नरबहादुर धामीलाई ३ मिनेटको समयसहित बोल्न दिए। धामी बोलिरहँदा गगन आफ्नो सीटबाट उठेर पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँड बसिरहेको ठाउँमा पुगेर निर्धारित समय अगावै माइकको लाइन काटिएको गुनासो गरे। यसमा सभामुखको ध्यानाकर्षण गराउन उनले आग्रह गरे।

 

सांसद धामी बोलिसकेपछि सभामुखले बोल्नका लागि तेजुलाल चौधरीलाई समय दिए, तर प्रमुख सचेतक एवं सांसद खाँडले आफ्नो सांसदको निर्धारित समयअघि नै माइकको लाइन काटिएको भन्दै उठेर नियमापत्ति जनाए। खाँडले भने, ‘घडी विग्रिएछ, भर्खरै पूर्ववक्ता माननीय ज्यूहरुलाई निर्धारण गरिएको समयभन्दा पहिले नै लाइन काटियो। त्यसकारण माननीयज्यूहरुले आफ्नो कुरा राख्ने क्रममा पूर्वतयारी गर्नुहुन्छ, त्यसअन्तर्गत आफ्ना कुरा राख्न पाइएन। सभामुखले जवाफमा भने, ‘निर्धारित समयभन्दा ३० सेकेण्ड बढी बोल्नुभयो। हाम्रो रेकर्डमा।’ त्यसपछि खाँडले भने, ‘त्यही त घडी विग्रिएछ के अलि, यतापट्टी ध्यान जाओस।’ फेरि सभामुखले भने समय साढे ४ मिनेट हो। माननीय सदस्यले उठाएका प्रश्न म्यानेजमेन्टको प्रश्न हो। हाम्रो ध्यानाकर्षण भएको छ।’

 

संसदमा भएको यो घटनाबारे कांग्रेस सचेतक पुष्पा भुसालले कांग्रेसलाई बोल्नका लागि ६ मिनेट समय छुट्याएको तर बोल्न थालेपछि २ मिनेट ३१ सेकेण्डमा सभामुखले माइक काटेको बताइन। किन यसरी थोरै समय दिएको भनेर प्रमुख सचेतक खाँडले नियमापत्ति जनाउनुभएको हो’, उनले भनिन। नागरिक दैनिकबाट