निर्मला हत्या प्रकरण : प्रहरी गम्भीर र संवेदनशील भएको छ नायब महानिरीक्षक थापा

काठमाडौं, पुस १४ । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएको बताएका छन् ।

 

सामुदायिक सेवा केन्द्र गोंगबुको १३औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले निर्मला पन्त हत्याले नेपाल प्रहरीलाई सबैभन्दा दुःखित बनाएको बताए ।

 

‘निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्छन्’–उनले भने । उनले आर्थिक वर्ष ०७४र०७५ मा प्रहरीमा बलात्कारसम्बन्धी एक हजार ८८० मुद्दा दायर भएकामा र एक हजार ३६६ मुद्दाको प्रहरीले सफल अनुसन्धान गरी दोषीलाई कारबाही गरेको जानकारी दिए ।

 

काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले सामुदायिक सेवा केन्द्रलाई राजनीति गर्ने थलोभन्दा समाजसेवा गर्ने थलोकारुपमा विकास गर्नुपर्ने बताए । टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय र प्रहरी सँगसँगै अगाडि बढ्नुपर्ने विचार राखे ।

 

केन्द्रका पूर्वअध्यक्ष रामकृष्ण सेढाइँ, केन्द्रका सल्लाहकार कल्पना शर्मा, केन्द्रका उपाध्यक्ष लक्ष्मण न्यौपानेलगायतले प्रहरीले भर्खरै सुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई केन्द्रले साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 

वि।सं। २०५८ मा स्थापना भएको सामुदायिक सेवा केन्द्रले गोंगबु क्षेत्रभित्र रहेको आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सीसी क्यामरा जडान, विभिन्न जनचेतनामूलक कार्यक्रम सन्चालन गरेको केन्द्रका कार्यवाहक अध्यक्ष शैलेश कार्कीले जानकारी दिए ।

 

सोही कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोंगबुमा कार्यरत् प्रहरी हवल्दार पुरुषोत्तम अधिकारी र प्रहरीजवान चमेली कँडेललाई सम्मान गरिएको थियो । साधारणसभाका अवसरमा शनिबारै सामुदायिक सेवा केन्द्रले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।रासस