मेयर जेल मुक्त भएको खुशीमा नगरपालिकामा सार्वजनिक बिदा

रौतहत, पुस १५ । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह जेलमुक्त भएको खुशीयालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको छ।

 

गत बैसाखदेखि जेल परेका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै रिहा गरेको हो। शनिबार दिउँसो उनी हेलिकप्टर चढेर आफ्नो नगरपालिका कटहरिया आइपुगेको समाचार अन्नपूर्ण पोस्ट र कान्तिपुर दैनिकमा छ।

 

काठमाडौंबाटै हेलिकप्टरमा मेयर कुश्वाहसँगै प्रतिनिधि सभा संसद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साह, प्रदेशसभा सदस्य कुन्दन कुश्वाह समेत रौतहट आएका थिए। अभिभावक विहीन बनेको नगरपालिकाले न्याय पाएको र आगामी दिनमा कटहरिया नगरपालिकाले विकासको गति लिने संसद साहको भनाइ थियो।

नगरपालिका तथा वडा कार्यालयहरुमा समेत विदा दिइएको प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिए।