चोलेन्द्रलाई महाभियोग लगाऊ : अन्सारी

काठमाडौं , पुस १६ । भावी प्रधानन्याधीशका लागि सिफारिस चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदीय सुनुवाई समितिमा परेका उजुरीमा राणा भ्रष्ट न्यायाधीश भएको दावी गरिएको छ । उजुरीकर्ताले राणालाई भ्रष्टाचारीका नाइके भनेका छन् र यदि चोलेन्द्र शम्शेरलाई प्रधान न्यायाधीशमा नियुक्त गरे आन्दोलन गर्ने चेतावनी समेत सुनुवाई समिति समक्ष दिएका छन् ।

एक जना उजुरीकर्ता जफरुल हुसेन अन्सारीले वीरगंज छपकैयाको ४ विघा क्षेत्रफलको धार्मिक सम्पदासहितको जग्गा सालो नाता पर्ने प्रमोद बिक्रम शाहलाई दिलाएको आरोप लगाएका छन् । अन्सारी ऐतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा संरक्षण अभियानका संयोजक हुन् ।

 

सर्बोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर र दीपकराज जोशीको संयुक्त इजलासले आफन्तलाई धार्मिक सम्पदा दिलाएर सार्वजनिक सम्पत्तिमा कब्जा गर्न मद्दत पु¥याएको तथ्यसहितको आरोप पत्र प्रस्तुत गरेका छन् । अन्सारीले चोलेन्द्रमा राजसंस्थाको चरित्र रहेकोले उनी प्रधान न्यायाधीश भए संघीय लोकतन्त्र नै खतरामा पर्ने र राजसंस्थासंग जोडिएका मुद्दाका पक्षमा फैसला हुनसक्ने बताएका छन् ।

 

राष्ट्रको ठूलो क्षति पु¥याउने भएकोले उनलाई महाअभियोग लगाई कारबाही गर्नुपर्ने अन्सारीको भनाई छ । वीरगञ्जको सार्वजनिक चार बिगाहा जमिन प्रमोद विक्रम शाहले हडपेपछि २०६५ असार २६ गते जिल्ला अदालत र पुनरावेदन अदालतले २०६७ असार २८ गते शाहको विपक्षमा फैसला गरेको अन्सारीले बताए । तर, शाहले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएपछि जिल्ला अदालत र पुनरावेदन अदालतको फैसलालाई उल्टाउदै चोलेन्द्रशम्शेरको इजलासले प्रमोद विक्रम शाहको नाममा लालपूर्जा कायम गरि राष्ट्रिय सम्पदा मास्ने काम गरेको उजुरीपत्रमा उल्लेख गरेका छन ।

न्यायको सर्वमान्य सिद्धान्त विपरीत चोलेन्द्र शम्शेरले आफन्तको नाममा फैसला गरेको भन्दै त्यसको बदरका लागि जिल्ला अदालत पर्सामा २०७४ बैशाख ११ गते दायर गरेको मुद्दा बिचाराधीन रहेको पनि अन्सारीले बताए । साँघु साप्ताहिक ,