३५ हजारभन्दा बढी कर्मचारीको मोह संघमै

काठमाडौं, माघ ९ । संघमै समायोजन हुन चाहने कर्मचारीको संख्या अत्यधिक रहेको पाइएको छ। समायोजनमा जान फारम भरेका कुल ७७ हजार ३४ जनामध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै समायोेजन हुने चाहना देखाएका छन्।

 

सरकारले स्थानीय तह र प्रदेशमा खटाउन कर्मचारी समायोजन ल्याए पनि अत्यधिक कर्मचारीको रोजाई संघ नै परेको हो। १३ हजार कर्मचारीले भने समायोजन फाराम नै भरेका छैनन्। यसले पनि अत्यधिक कर्मचारीको चाहना संघमै बसेर काम गर्ने रहेको देखाएको छ। सरकारले भने संघका लागि ४९ हजार ९ सय २० जनाको मात्र दरबन्दी स्वीकृत गरेको छ।

 

कर्मचारी समायोजनसँगै प्रशासनिक संघीयताले गति लिने अपेक्षा गरिरहेको अवस्थामा यो तथ्यांक आएको हो। यसले कर्मचारी समायोजन अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ। प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन समायोजन अध्यादेश ल्याइएको हो। त्यस ऐनको मनसायविपरीत प्रक्रिया पु¥याएर घुमाईफिराई संघमै समायोजन हुन चाहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। ‘केन्द्रको दरबन्दी हेर्छांै, दरबन्दीभन्दा बढी भए ती कर्मचारीलाई स्थानीय र प्रदेशमा खटाउँछौं।’ –मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भन्नुभयो।

 

फाराम नभर्ने कर्मचारीलाई ज्येष्ठता, नागरिकतामा उल्लिखित ठेगाना वा हाल बसोबास गरिरहेको ठेगानाका आधारमा समायोजन गरिनेछ। उनीहरूलाई स्थानीय र प्रदेशमा खटाउने पनि प्रवक्ता अधिकारीले बताउनुभयो।

 

मन्त्रालयका अनुसार हाल हाल ९० हजार १ सय १६ जनाको दरबन्दी छ। तीमध्ये न्याय, परराष्ट्र र महालेखाका करिब ४ हजार कर्मचारी समायोजनमा सहभागी हुनुपर्दैन। बाँकी रहेका करिब ८६ हजार कर्मचारीमध्येले समायोजन फारम भरेका थिए। संघीयता भने पनि केन्द्रमै अत्यधिक कर्मचारी रहने अवस्था आएको मन्त्रालयका अधिकारीहरू बताउँछन्। नेपाल समाचारपत्रबाट