दुलही लिएर फर्किदै गरेको जन्ती बस दुर्घटना हुदा एकको मृत्यु ,१३ घाइते

चितवन। चितवनमा जन्ती बोकेको बस दुर्घटना भएको छ । पूर्वी चितवनको टाँडीबाट दुलही लिएर फर्किदै गरेको बस माडी–ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्ज भित्र दुर्घटना भएको हो । ना ७ ख २२८ नम्बरको बस अपरान्ह आफै अनियन्त्रि भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । मृत्यु हुनेमा माडी नगरपालिका २ चिरौली बस्ने २८ बर्षिय मिथुन महत्तो रहेका छन् ।घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

उता सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमा गएराति सरकारी गाडीको ठक्करबाट एउटा अर्नाको मृत्यु भएको छ ।कोशी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका लागि रातिको समयमा निस्केको अर्नाको पूर्वपश्चिम राजमार्ग पार गर्ने क्रममा सरकारी गाडीको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको स१झ ४९३ नंको त्रियुगा नगरपालिकाका नगर प्रमुख चढ्ने गरेको गाडीको ठक्करबाट अर्नाको मृत्यु भएको हो ।रातिकोे समयमा चरिचरनका लागि निस्किएको आरक्षको वयस्क पोथी अर्नाको गाडीको ठक्करबाट घट्नास्थलमै मृत्यु भएको हो ।