पैदलयात्रुलाई बाटो काट्नै गाह्रो ४० प्रतिशत पैदल यात्रुको मृत्यु भएको तथ्यांक सार्वजनिक

काठमाडौं,फागुन २६।पछिल्ला ६ वर्षमा सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत पैदल यात्रु रहेको तथ्यांक सार्वजनिक भएको छ। सडक दुर्घटनामा परेका ११ सय १८ जनामध्ये ४ सय ३४ पैदल यात्रु छन्।काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामा मासिक सरदर २ जनाको ज्यान जाने तथा ७ जना गम्भीर घाइते हुने गरेका छन्। मृतकमध्ये अधिकांश १७ देखि ३५ वर्ष उमेर समूहका युवा छन्।आकाशे पुल, ट्राफिक बत्ती र जेब्राक्रसको अभावमा जथाभाबी बाटो काट्न बाध्य पैदलयात्रु धेरै दुर्घटनामा परेका छन्। कतिपय ठाउँमा जेब्राक्रस हुँदा हुँदै जथाभाबी बाटो काट्नेहरू पनि छन्।दुर्घटनामा सबभन्दा पीडित हुने पैदल यात्रु हुन्।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ अन्तर्गत दफा-१२६ मा पैदलयात्रुले पेटीबाट हिँड्नुपर्ने स्पष्ट उल्लेख गरेको छ।‘मानिस हिँड्ने पेटी भएको सडकमा पेटीबाटै हिँड्नुपर्छ। पेटी नभएको सडकमा हिँड्दा दायाँ किनारा च्यापी हिँड्ने गर्नुपर्छ,’ उक्त दफामा उल्लेख छ।त्यस्तै, दफा १३७ मा निर्धारित ठाउँबाट बाटो काट्नुपर्दा जेब्रा क्रसिङ, सबवे, ओभरहेड ब्रिज वा त्यस्तै बाटो बाट्न निर्धारण गरिएको ठाउँबाट मात्र बाटो काट्नुपर्छ भनेर स्पष्ट लेखिएको छ।ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरणका लागि जथाभावी सडक पार गर्ने यात्रुलाई २०० देखि १००० सम्म जरिवाना र कक्षा लिने व्यवस्था पनि गरेको छ।

 

ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काट्ने पैदलयात्रीले उन्मुक्ति पाइरहेको अवस्थामा २०६३ सालमा पैदलयात्रु समेतलाई दुर्घटनामा दोषी देखिए कारबाहीको व्यवस्थासहितको सडक सुरक्षा ऐन ल्याइएको हो।दुर्घटना हुन नदिन सवारी चालकजस्तै पैदल यात्रुले पनि आफ्नो सुरक्षाप्रति सचेत र ट्राफिक नियम पालना गर्नुपर्छ।विकसित मुलुकमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम पालना गराउनुलाई सरकारले उच्च प्राथमिकता दिएको हुन्छ। राज्यको अनुशासन व्यवस्था कायम गर्न ट्राफिक नियमलाई कडाइका साथ पालना गराउनुलाई उनीहरूले पहिलो खुड्किलोको रूपमा लिएका हुन्छन्।

 

नयाँ युवापुस्तालाई समेत ट्राफिक नियम पालना नगरे कारबाहीको भागिदार भइन्छ भन्ने शिक्षा दिइन्छ।संस्कार भनेको शिक्षा र कानुनी व्यवस्थामा निर्भर रहने हुनाले अब विद्यालय तहको पाठ्यक्रमबाटै ट्राफिक सचेतना शिक्षा आवश्यक भएको देखिन्छ।कारबाहीमा पर्छु भनेर होइन आफ्नै सुरक्षाका लागि पनि सडक नियम पालना गर्नुपर्छ भन्ने संस्कार बसाल्नुपर्छ।हामी यति हतारमा हुन्छौं कि एक छिनसम्म पर्खनसमेत फुर्सद हुँदै र हतारमै बाटो काट्छौं। यतिमात्र होइन बाटो काट्नेबेला मोबाइल फोनमा व्यस्त हुन्छौं जसको कारण दायाँरबायाँबाट आएको सवारी देखिन्न र एक सेकेन्डको असावधनीले भयानक दुर्घटना निम्तिने गर्छ।

 

कहिलेकाहीँ पैदलयात्रुको गल्तीले ठूलो दुर्घटना हुन्छ।केही समयअघि ललितपुरको बिएण्डबी अस्तपाल नजिकै बाटो काटिरहेका पैदल यात्रुलाई बचाउन खोज्दा आकाशेपुलको पिल्लरमा बस ठोक्किएर २९ जना यात्रु घाइते भएका थिए।त्यस्तै कोटेश्वरबाट ग्वार्को चोकतर्फ आइरहेको एउटा मोटरसाइकलले बीच बाटोबाट दौडेर बाटो काट्दै गरेका पैदल यात्रुलाई बचाउन ब्रेक लगाउँदा आफ्नै मोटरसाइकल पछाडि बसेकी २१ वर्षीय युवतीको ज्यान गएको छ।गौशालमा एक जान मोटरसाइकल चालकको बाटो काट्ने पैदल यात्रुलाई बचाउ न खोज्दा दाहिने आँखा गुमाउनुपरेको छ।

 

त्यस्तै काठमाडौंको भोटाहिटीमा आकाशेपुल मुनिबाट बाटो पार गर्दै गरेका व्यक्तिलाई बचाउन खोज्दा चालकले दायाँ खुट्टा गुमाएका छन्।उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ।जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरीले यो उपाय लगाएको हो।विश्वमा ट्राफिक नियम उल्लंघन गर्ने पैदल यात्रुले ठूलो जरिवाना तिर्नुपर्ने हुन्छ।