पृथकतावाद सकिँदा केही मान्छे मुर्मुरिँदैछन् : प्रधानमन्त्री

काठमाडौं,फागुन २७। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै परिषदका अध्यक्षसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भएपनि विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारेका छन् ।

 

‘पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो’, उनले भने, ‘राष्ट्रिय अखण्डताबारे जनमत संग्रह हुनै सक्दैन । यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ ।’

 

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुर्मुरिएको देखेर आफू आश्चर्यमा परेको पनि बताएका छन् । ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानीबिनाको माछा जस्तो भुटभुटिएका छन्’, ओलीले भने, ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह सोच्न पनि नमिल्ने कुरा हो ।’

 

प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने र लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने बताए । ‘देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैनन्’, ओलीले भने, ‘कोही मृत संस्था जीवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ ।’

 

देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा पनि गरेका छन् । साभार – अन्नपूर्णपोष्ट डटकम