निर्मला हत्या प्रकरण : पूर्व एसपी दिल्लीराज विष्ट धरौटीमा थुनामुक्त

कञ्चनपुर, चैत १० । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा घटनाको प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा हिरासतमा रहेका पूर्व एसपी दिल्लीराज विष्ट थुनामुक्त भएका छन् ।

 

कञ्चनपुर जिल्ला अदालतले माग गरेको १० लाख रुपैयाँ धरौटी तिरेर उनी रिहा भएका हुन् । जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले विष्टसँग १० लाख धरौटी माग्ने आदेश गरेको थियो ।

 

यसअघि शुक्रबार विष्टको बहस सकिएको थियो । पूर्व एसपी विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको र घटनाका आरोपी मानिएका दीलिपसिंह विष्टलाई यातना दिइएको भन्दै मुद्दा दायर भएको थियो ।

 

जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि ६ प्रहरी ३१ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । घटनापछि अनुसन्धानमा संलग्न सिआइबीका डिएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् ।