सिके राउतको धक्काः राजपा र फोरमलाई चस्का

काठमाडौं। डा.चन्द्रकान्त राउत(सीके) मूलधारको राजनीतिमा आएपछि मधेशवादी दलहरुमा ८ रेक्टरको भूकम्प आएको छ । मधेशवादी दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी एकताका लागि हतारिनुले पनि ती पार्टीमा भूकम्प आएको कुरालाई पुष्टी गरेको छ ।

 

संघीय समाजवादी फोरमले पार्टी एकताका लागि २०७५ मंसिर २२ को केन्द्रीय कमिटी बैठकबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो । वार्ता समितिको सदस्यमा राजनीतिक समितिका सदस्यमा पार्टीका उपाध्यक्ष रकम चेम्जोङ, महसचिव रामसहाय यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव मोहम्मद इस्तियाक राइन, राजनीतिक समिति सदस्य महेन्द्र थापामगर रहेका थिए । तर राजपाले त्यतिबेला फोरमसँग एकतावार्ताका लागि केपी ओली नेतृत्वको सरकार छाड्नुपर्ने सर्त राखेको थियो । जसका कारण वार्ता अगाडि बढेको थिएन ।

 

त्यसपछि फोरमले पटक पटक एकताका लागि प्रस्ताव राख्दैआए पनि राजपाले बेवास्ता गर्दैआएको थियो । सरकार छाड्नुपर्ने पुरानै सर्त दोहो¥याउने गरेको थियो । तर सीके राउत मूलधारमा आएर जनमत पार्टी नै दर्ता गर्ने भएपछि राजपा फोरमसँग एकता गर्न हतारियो । सीके राउत मूलधारको राजनीतिमा आएको घोषणा २०७५ फागुन २३ मा गरेको भोलिपल्टै राजपाले फोरमसँग एकता गर्न तयार रहेको पत्र पठाएको थियो । र, २०७५ चैत ८ गते वार्ता समिति नै गठन गरेको छ । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा गठित वार्ता टोलीमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा सदस्य छन् । फोरमले यसअघि नै राजेन्द्र श्रेष्ठ नेतृत्वको वार्ता समिति बनाइसकेको छ ।

 

सीके राउत राज्यविप्लवको अभियानबाट पछि हटेर मूलधारको राजनीतिमा आएपछि निकै आत्तिएका फोरम र राजपा एकता भएपछि नेकपा, नेपाली कांग्रेसपछि तेस्रो ठूलो दल हुनेछ । अहिले संघीय संसदमा राजपा तेस्रो र फोरम चौथो शक्ति हुन् । उनीहरुबीच एकता भएमा तेस्रो बलियो शक्तिका रुयमा उदय हुनेछ । मधेश केन्द्रित मात्र नभएर उक्त पार्टीलाई राष्ट्रिय रुपमा नै विकास गर्ने योजनामा फोरम र राजपा छन् । पार्टी एकता भएमा २ नम्बर प्रदेशमा उक्त पार्टी सबैभन्दा बलियो हुनेछ । एकतापछि ५ नम्बर र सुदूरपश्चिम प्रदेशमा पनि उक्त पार्टीको प्रभाव बृद्धि हुने देखिन्छ ।

 

राजपा–फोरम एकतापछि पनि ओली सरकार छाड्ने पक्षमा उपेन्द्र यादव छैनन् । राजपासँग एकतापछि सरकारमा थप मन्त्री नियुक्तिका लागि प्रधानमन्त्री केपी ओलीलाई दबाब दिनेछन् । मन्त्री नथपे पनि सरकारबाट नहट्ने बरु राजपाका नेताहरुमध्ये एकलाई मन्त्री बनाएर जाने पक्षमा यादव छन् । चुनावको एक बर्षअघि विगतमा उठाउँदैआएको संविधान संशोधन गर्न ओली सरकार तयार नभएको भन्दै सरकारबाट बाहिरिने र चर्का क्रान्तिकारी नारा लगाएर चुनाव जित्ने रणनीतिमा उपेन्द्र यादव रहेको फोरमकै एक असन्तुष्ट नेता बताउँछन् ।

 

उनले भने–चुनावको एक बर्षअघिसम्म उपेन्द्र यादव सरकार छाड्दैनन्, कमाउधन्दामा लाग्छन्, त्यसपछि चर्का कुरा गर्दै सरकार छाड्छन् । त्यसको उदाहरण वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति मधेशीमूलकै डा। आरके रौनियारलाई हटाउनुको कारण उपेन्द्र यादवको पैसा कमाउने उद्देश्य नै हो । भीसी नियुक्ति गर्दा पूर्व भीसी बलभद्र दास र हालका रजिष्टार तुलबहादुर श्रेष्ठले स्वास्थ्य मन्त्री यादवलाई १० करोड घुसको प्रस्ताव गरेको कुरा आएपछि उनले रौनियारलाई विनाकारण सिनेट सदस्यलाई दबाब दिएर हटाएका हुन् ।

 

राजपा र फोरमले सीके राउतलाई केपी ओलीको योजनामा चलेको आरोप लगाउन थालिसकेका छन् । अदालतबाट छुटेको भोलिपल्टै राउतले बिखण्डनको अभियान छाडेर मूलधारको राजनीतिमा आएको घोषणा गरेका थिए । त्यसकारण ओलीले नै उनलाई रिहा गराउन अदालतमा दबाब दिएको आरोप उनीहरुले लगाउने गरेका छन् । साँघु साप्ताहिकबाट,