आज बाट लगानी सम्मेलन सुरू, ४० देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी

काठमाडौं,चैत १५। सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन्।काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उदघाटन गरेपछि अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको विषय बस्तुबारे जानकारी गराएका छन्। विभिन्न ४० देशहरुबाट मात्रै ६ सयभन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागीता रहेको छ।सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु गरी १ हजार जनाको हाराहारीमा सहभागित रहेको आयोजकले जनाएको छ।

सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरेको हो। त्यस्तै लगानी सम्मेलनमा भाग लिन आएका सिंगापुरका एक विज्ञले विकासका लागि नेपालले आफ्नै स्रोत र साधनको अधिकतम सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन्। सिंगापुरको मेनहार्ट गपका कार्यकारी अध्यक्ष शाहजाद नसिमले नेपा लले लिएको विकासको लक्ष्य प्राप्तिका लागि यहाँको प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्नुपर्नेमा जोड दिए।‘नेपाल दुई ठूला बजार भारत र चीनको बीचमा छ,’ उनले बिहीबार नागरिकसँगको कुराकानीमा भने,‘नेपालले आफ्नो क्षेत्रको फाइदा लिन खोज्यो भने उत्पादित वस्तुलाई बजारको समस्या हुँदैन।’ नसिमले सिंगापुरको अनुभव साट्दै उक्त अनुभव नेपालका लागि पनि शिक्षा हुन सक्ने बताए।

 

‘६० र ७० को दशकमा सिंगापुरले नेपालले अहिले सामना गरेजस्तै समस्या भोगिरहेको थियो,’ उनले भने। सिंगापुरले कसरी छलाङ मा-यो भन्ने प्रश्नको जवाफमा उनले आफ्नो मुलुकले सुरुमा भौतिक विकासलाई पहिलो प्राथमिकतामा राख्दै बन्दरगाह र विमानस्थ ल निर्माणलाई तीव्रता दिएको बताए। ‘सुरुमा हामीले स्केच बनायौं, अन्ततः यसलाई व्यवहारमै उतार्न सफल भयौं,’ उनले भने।नसिमले नेपालमा मेनहार्ट ग्रुपको कार्यालय खोलेर सरकारी निकायसँगको सहकार्यमा काम गर्ने जानकारी दिए। ‘नेपालमा धेरै कुरा छ, जुन सिंगापुरमा छैन। नेपालमा प्राकृतिक स्रोत, साधन र सुन्दरता छ, जुन सिंगापुरमा छैन। त्यसैले नेपालमा द्रुत गतिको विकासको सम्भावना छ,’ उनले भने।